म्याग्दी /म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४, दगनाम र वडा नं. ५ झिँको सिमानामा पर्ने नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गर्न लागको आयोजनाको बाँधस्थलमा एक्कासि खसेको पहिरोमा परेर दुई जनाको मृत्यु भएको र ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सुर्य बहादुर थापाले जानकारी दिए ।
पहिरोमा परेर बागलुङको तमानखोला गाउँपालिका-१ का सुजन बुढामगर र चितवनका लालबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुनेहरुमा भारत गोपलगञ्जका ५३ वर्षिय धरम कुसवाह, ५५ वर्षिय भैयाराम चौधरी, रोल्पा सनछहारी गाउँपालिका ३ का ३३ वर्षिय सुमान पुन मगर, बाराको निजगढ नगरपालिका ७ का ४० वर्षिय कुमार थापा मगर, सर्लाहीको बागमती नगरपालिका ५ का ५५ वर्षिय गणेशबहादुर मगर रहेको डिएसपी थापाले जानकारी दिए । गम्भीर घाइते भएका तीनजना कुसवाहा, चौधरी र पुनलाई प्रदेश अस्पताल बेनीमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ ।
सामान्य घाइतेको प्रदेश अस्पताल बेनीमा उपचार भैरहेको छ । घाइतेहरुको टाउको, हातखुट्टा, मेरुदण्ड र शरिरको भित्री भागमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।





