शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राष्ट्रिय महिला भलिबल प्रतियोगिता स्थगित

राष्ट्रिय महिला भलिबल प्रतियोगिता स्थगित


  • ढोरपाटन संवाददाता
  • भाद्र ४ २०८२, बुधबार

पोखरा/नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरले आयोजना गर्दै आइरहेको महिला राष्ट्रिय भलिबल प्रतियोगिता स्थगित गरिएको छ । नाकोड्सले हरितालिका तीजको अवसरमा आयोजना गर्दै आइरहेको २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ को मुख्य आकर्षण महिला भलिबल स्थगित भएको हो ।

संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ ८ देखि १० गतेसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा सो महोत्सव हुन हुनेछ । मंगलबार पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष इ.दिनेश भण्डारीले राष्ट्रिय महिला भलिबल स्थगित गरेर गण्डकी प्रदेशमा महिला भलिबल खेलाडी विकास गर्ने उदेश्यले मावि स्तरिय महिला भलिबलको आयोजना गर्न लागेको बताए । उनले पुरुषतर्फ खुला भलिबलको आयोजना गर्ने समेत सुनाए ।

‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण लामाचौर कप भलिबल प्रतियोगिता हो । यसबाहेक तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता हुनेछ ।

पुरुष भलिबल विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार रहेको छ ।

तीज गीतमा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार साथै सहभागी टिमलाई प्रोत्साहन स्वरुप २ हजार दिइनेछ । लोकनृत्यमा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ४०, २५ र १५ तथा सान्त्वना ३ टिम तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष भण्डारीले जानकारी दिए ।

यस्तै, लोकदोहोरी कलाकारहरु प्रकाश दूतराज, जानकी तारामी मगर, रीता थापामगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुङ, लक्ष्मी नेपाली लगायतको प्रस्तुति हुने प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतमले बताए ।

महोत्सव आयोजना गर्न करिब ४५ लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष बृद्धिमा थप गरिने अर्थ संकलन उपसमिति संयोजक दिलबहादुर थापाले बताए । २०५४ सालमा पहिलोपल्ट लामाचौर मेला आयोजना गरेको संस्थाले एम्बुलेन्स, शववाहक संचालन गर्नुका साथै गोस्तेघाटमा फुटबल मैदानसमेत निर्माण गरेको छ ।

डिसहोम फाइबर नेटको मुख्य प्रायोजनमा हुने महोत्सवमा हिमश्री फुड्स प्रालिको उत्कृष्ट उत्पादन रारा चाउचाउ र पोखराको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्रमशः खुला तथा अन्तर मावि छात्रा भलिबलतर्फ टाइटर स्पोन्सर गरेका छन् ।

महोत्सव संरक्षकमा पोखरा महानगरपालिका वडा कार्यालय १९ र १६ हुन् । प्रबद्र्धकमा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका कार्यालय, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा–प्रतिष्ठान छन् भने नेपाल भलिबल संघ, प्रदेश खेलकुद परिषद् गण्डकी, गण्डकी प्रदेश भलिबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की, जिल्ला भलिबल संघ कास्की, पोखरा प्रज्ञा–प्रतिष्ठानलगायत सहयोगी छन् ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष स्वागतमान सिंह भण्डारी, नवीन भण्डारी, बुद्धिबहादुर खत्री क्षत्री, प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतम लगायतले बोलेका थिए । अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष हरिबहादुर थापा र संचालन सचिव शोभा बानियाँले गरेकी थिइन् ।

यसबीच, लामाचौरको सरस्वती आदर्श विद्याश्रमले आयोजकलाई १० हजार सहयोग गरेको छ । प्राचार्य कृष्ण गुरुङले उक्त रकम अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरेका हुन् । विद्यालयले बर्सेनि सहयोग गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->