बागलुङ/कालीगण्डकी करिडोरको मालढुंगादेखि बलेवा खण्डमा भीषण पहिरोले सडक अबरुद्द भएको एकसाता बितिसकेको छ । अस्थायी रुपमा जोखिम मोल्दै केही गाडी वारपार भएका छन् । तर सडक खुलेको छैन । सडक कहिले सहजरुपमा खुल्छ भन्ने कसैले बताउन सकेका छैनन् ।
यो सडक खण्ड बिडारी कन्स्ट्रक्सनले निर्माण गरिरहेको हो । तर पहिरो खसेपछि कसले बनाउने, कसले खुलाउने भन्ने प्रश्न पनि उठेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाबाट सदरमुकाम काम बिशेषले आउने नागरिक र मालसामान ढुवानीमा यो सडक अबरुद्द हुँदा सबैभन्दा समस्या भैरहेको छ ।
शनिवार जैमिनी नगरपालिकाका उपप्रमुख तीन घण्टा सम्म पहिरोमा बसेर सडक अस्थायी रुपमा खुलाउने प्रयासमा लागे । करिडोरका इन्जिनियर र डोजर प्रयोग गरेर खुलाउने प्रयास भयो । तर जोखिम कायमै छ । बुटवलदेखि मालसामान लिएर आएका ठूला ट्रकहरु दर्जनको संख्यामा अलपत्र छन् । कोही फर्केपनि कतिपयले पहिरोमै अलपत्र परेका हुन् ।
यो स्थानमा झुण्डीएका ठूला ढुंगा थिए । करिडोरको ट्रयाक खोल्दा बम पड्काएर पहरा फोडिएको थियो । त्यतिबेलादेखिनै खलबलिएको पहरामा निरन्तर ब्रेकर र डोजर लगाउने काम भैरहेको थियो । यसरी डोजर लगाएपछि हलचल भएको स्थानमा बर्षातको पानी पसेपछि पहिरो खसेको जानकारहरु बताउँछन् । करिडोरको निर्माणाधिन खण्ड मालढुंगा बलेवा खण्डमा जथाभावी ढुंगा उत्खनन् र सामाग्री निकासी समेत भैरहेको छ । जनैपुर्णिमाको बिहानदेखि रोकिएको सडक मगलवार आंशिक खुलेपनि बुधवार बिहानबाटै फेरी बन्द भएको हो । मालढुंगादेखि कालाखोला सम्मको ठाउँठाउँमा ठेकेदार कंपनीले समयमा बाटो बनाउनुको साटो राम्रो सामाग्री पाएकोले ढुंगा निकाल्ने काम गरिरहेको छ । ती स्थानमा पनि पहरा खस्ने खतरा छ । ठेकेदार पक्षले पहरा फुटाएर ग्राभेल बनाइ बिक्री समेत गरेको छ । पहाडै किनेर सामाग्री निकालिरहेको कंपनीले काम भने ढीला गरेको हो ।
ब्रेकर लगाएर पहरा फोडिरहेमा यस्ता दर्जनौं पहिरो खसेर सडक अबरुद्द भैरहने बानपा १४ का अध्यक्ष चक्रबहादुर खत्री बताउँछन् । सडक जोखिम बढाउने गरी सामाग्री उत्खनन् गर्न दिंदा यो समस्या आएको उनको भनाइ छ । पहिरो खसेकै स्थानमा डोजर लागेको थियो वा थिएन भन्ने कुराले भन्दा निरन्तर पहरा खोतल्ने प्रवृत्ति दुरगामी असर पर्ने अबस्था हो भन्ने कुरा बुझाउनुपर्ने उनले बताउ । सडक निर्माण र डिजाइनमा अन्यत्रकै ग्राभेल ल्याउने प्रावधान भएपनि पहरा र सामाग्री आउने देखेपछि ठेकेदारले पहाडै खनेर सामाग्री अन्यत्र समेत बेच्ने गरेका छन् । यो प्रवृत्ति नै जोखिम निम्तने खतरा हो ।
ब्रेकरको थर्काहटले पुरानो भैसकेका पहिरोमा पनि अजंगका ढुंगा खसेर जोखिम भैरहेका छन् ।त्यो करिडोरमा मात्र होइन, मध्यपहाडी लोकमार्गमा पनि समस्या छ । भित्तामा कोप्रो पारेर सडक खनिएकोले लोकमार्गकै कुश्मा बागलुङ खण्ड, काठेखोलाको बिहुँ, गलकोटको दुदिलाभाटी र मल्ममा पनि पहिरो खसेर पटक पटक सवारी अबरुद्द भैरहेका छन् ।
एकसातामा तीनचार पटक सम्म सडक रोकिएर रात्रीबस र दिवा सेवाका सवारी समेत रोकिएको गलकोट नगरपालिका वडा नंं ९ का अध्यक्ष तेजबहादुर थापाले बताए । ‘माथील्लो खण्ड कोतरिकएको छ, तलको पहिरोले तानेको छ’ उनले भने, ‘बेस बनाउने काम नगरी भित्ता फोड्ने कामले माथिल्लो बस्ती समेत जोखिममा परेका छन् ।’ कतिपय स्थानमा भने डिजाइनमै त्रुटी देखिएपछि सडकहरु जोखिमका बनेका हुन् । गलकोट नगरपालिका १ को झाँक्रीस्थानमा लोकमार्ग जोखिमको बनेको धेरै समय भैसक्यो । तर निर्माण गर्ने, जोखिम न्युनिकरण गर्ने काम भएको छैन ।
बागलुङ नगरपालिका १० को एक्लेसालमा त यो बर्षात लागेपछि गाडि नै गुडेका छैनन् । जोखिम निम्तने डरले उक्त सडक खुलाउने प्रयास नै भएको छैन । ती क्षेत्रलाई व्यवस्थित र दिगो बिकासका दृष्टीले काम गर्न गराउन ठेकेदारकंपनी र आयोजना कार्यालयमा आग्रह गरेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए । दिगो रुपमा समस्या समाधानकालागि प्रदेश सरकारको ध्यानाकर्षण हुनुपर्ने, सडक डिभिजन लगायतका कार्यालयले यस्ता पहिरो न्युनिकरण र सडक संचालनमा ध्यान दिनुपर्ने उनले सुझाव समेत दिए ।





