बागलुङ/गण्डकी प्रदेशसभाकी सदस्य दिलमाया पौवीले विकृति र विसंगतीविरुद्व प्रेसले स्पष्ट रुपमा कलम चलाउनुपर्ने बताएकी छिन् । उनले मिडिया जगत समाजको ऐना भएको भन्दै ऐनामा बादल लाग्न नदिन सबैको साझा प्रयास हुनुपर्ने धारणा राखिन् ।
नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको तिज विशेष कार्यक्रमको उद्घाटन गर्दै पौवीले समाजको वास्तविक घटनाहरु बाहिर ल्याउन पत्रकारहरु राजनीतिक र क्षेत्रगत रुपमा विभाजित हुन नहुने समेत बताइन् । उनले सबै पत्रकारहरु एक ढिक्का भएर लागेमा देशमा देखिएको विकृति, विसंगती अन्त्य भएर जाने बताइन् । साथै, उनले ३३ प्रतिशत आरक्षणमा बसेर नभइ ५० प्रतिशतको हक जमाउन महिलाहरु अगाडि बढ्नुपर्ने पनि बताइन् । पत्रकार महिलाको संख्या बढाउन उनले आग्रह पनि गरिन् ।
गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार महिला भएझै अन्य क्षेत्रमा पनि महिलाको नेतृत्व स्विकार्ने र क्षमता बढाउने प्रयास भएमा महिलाहरु अन्यायबाट पनि बच्न सक्ने पौवीको धारणा थियो । उनले राजनीतिक नेतृत्वमा पनि अब महिलाले दाबी गर्ने बेला आएको बताइन् ।
नेपाल प्रेस युनियन बागलुङ, महिला बिभाग प्रमुख उषा पौडेलको अध्यक्षता, प्रेस युनियनका अध्यक्ष संगम घर्तीमगरको स्वागत र सचिव डम्बर बुढाको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य माया अधिकारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, युनियनकै पुर्व अध्यक्ष जगन्नाथ आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा युनियन आबद्द पत्रकारसँगै अन्य पेशागत संगठन, संचार माध्यममा कार्यरत पत्रकारको सहभागिता थियो । तीजको अवसरमा भातृत्व विकास गर्ने, मेलमिलाप कायम गर्ने र साँस्कृतिक महत्वलाई जगेर्ना गर्ने उद्देश्यले तीज विशेष कार्यक्रम बनाइएको अध्यक्ष घर्तीमगरले जानकारी दिए ।





