पोखरा/लायन्स क्लब अफ इन्फरमेसन टेक्नोलोजी ले पार्दी माध्यामिक विद्यालयमा सिसिटीभी क्यामेरा जडान गरेको छ । आई टी ब्यवसायीहरु आवद्ध लायन्स क्लब अफ इन्फरमेसन टेक्नोलोजी ले पोखरा १७ मुस्ताङ चोकमा रहेको पार्दी माध्यामिक विद्यालयमा जडान गरेको सिसिटिभी क्यामेरा एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर ढकाल र विद्यालयका प्रध्यानाध्यापक वामदेव पौडेललाई जडान गरिएको सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको हो ।
सिसिटिभी क्यामेरा हस्तान्तरण गर्दै लायन अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपालका पूर्व गभर्नर लायन राम बहादुर बसेलले लायन्स क्लब अफ इन्फरमेसन टेक्नोलोजी ले सामाजिक सेवा अन्तर्गत सरकारी विद्यालयमा सिसिटिभी जडान गरी विद्यालय संगै विद्यालय वरपरको सुरक्षाका लागि महत्वपूर्ण काम गरेको बताए ।
लायन्स क्लबमा आवद्ध साथीहरु मिलेर संकलित रकमबाट जडान गरिएको सिसिटिभी क्यामेराले विद्यालयको सुरक्षा संगै विद्यालयमा सञ्चालन हुने विभिन्न परीक्षा, निर्वाचनको समय संगै विद्यालय अगाडिको सडक वरपर हुने कुनैपनि घटनालाई पत्ता लगाउन सहयोग पुग्ने समेत बसेलले बताए ।
लायन्स क्लबले जडान गरेको सिसिटिभी क्यामेराको मर्मत सम्भारका लागि विद्यालय परिवारले ध्यान दिनुपर्नेमा उनको जोड रहेको थियो ।
सो अवसरमा बोल्दै विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर ढकालले सिसिटिभी जडानका लागि वडा हुँदै महानगर र महानगरको पनि शिक्षा शाखामा अनुरोध गरे पनि सुनुवाई नभएको अवस्थामा सहयोग पाउनु ठूलो कुरा भएको बताए ।
सिसिटिभी क्यामेरा मार्फत विद्यालयको सुरक्षा र विद्यालयमा हुने विभिन्न कार्यक्रम र बाहिरी सडकमा हुने कुनैपनि दुर्घटनाको निगरानी गर्न सक्ने उनको भनाइ रहेको थियो ।
सो अवसरमा बोल्दै सिसिटिभी जडान कार्यक्रमका संयोजक तथा क्लबका निवर्तमान अध्यक्ष ई. दिनेश महर्जनले लायन्स क्लब इन्फरमेसन टेक्नोलोजी को सहयोगमा १ लाख १३ हजार ७ सयको लागतमा ८ वटा सिसिटिभी क्यामेरा जडान गरी विद्यालयलाई हस्तान्तरण गर्न पाउदा आफुहरु गौरवान्वित भएको बताए ।
त्यस्तै क्लबका अध्यक्ष रावत गोम्जा तामाङले लायन्स क्लव अफ इन्फरमेसन टेक्नोलोजी ले सामाजिक काम अन्तर्गत आफ्नो कार्यकालको पहिलो कार्यक्रम अन्तर्गत पार्दी माविमा सिसिटिभी क्यामेरा जडान गरेको बताए । हाल विद्यालयमा ८ वटा फुल कलरको फोर क्यामेरा मात्र जडान गरिएको भए तापनि उक्त स्थानमा १६ वटा सम्म फोर स्तरको फुल कलरको क्यामेरा जडान गर्न सकिने र त्यसका लागि पनि आफुहरुले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यसैगरी आफ्नो कार्यकालमा अन्य विद्यालयहरुमा आईटी सामाग्री वितरण र सिसिटिभी जडानलाई निरन्तरता दिने तामाङको भनाइ रहेको थियो ।
सो अवसरमा लायन्स डिष्ट्रिक ३२५ आइ नेपालका डिष्ट्रिक एड्मिनिष्ट्रेटर टंकराज अधिकारी, एरिया कोअर्डिनेटर निरा कोइराला, रिजन २४ का रिजन चेयर पर्सन हरिहर पराजुली, जोन ५६ का जोन चियरपर्सन विष्णु प्रसाद तिमिल्सिना, क्लबका संस्थापक अध्यक्ष सनरोज गुरुङ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव ई. राजेश अधिकारीले गरेका थिए ।





