आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सडक सुरक्षाप्रति संवेदनशिल बन्न सुझाव

सडक सुरक्षाप्रति संवेदनशिल बन्न सुझाव

सडक साँघुरो, तीब्र गति र पार्किङको उचित व्यवस्थापन अभावमा ती घटना भभएको भन्दै ट्राफिकले अन्य सुरक्षा निकायको सहकार्यमा सडक सुरक्षाका कार्यक्रम ल्याउनुपर्ने पत्रकारहरुले सुझाव दिए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८२, शनिबार

बागलुङ/रातो प्लेटका गाडीले यात्री ओसार्छन्, त्यो पनि जोखिम मोलेर क्षमताभन्दा बढी मानिस बोक्दा दुर्घटनाको जोखिम छ । बजार क्षेत्रमा दुइ तर्फी पार्कीङ भैरहेको छ, ट्राफिकले देख्दैन वा बेवास्ता गर्छ ?

सरकारी कार्यालयहरुको गेट लगाइन्छ, सेवाग्राहीले सडकमा पार्किङ गर्न बाध्य छन् । राजमार्गहरुमा सडक सुरक्षा सचेतना छैन । न त सडक पार गर्ने जेब्राक्रसिङ छन् । त्यतिमात्र होइन जथाभावी रुपमा सवारी हाँक्नेको होडबाजी छ । मोटरसाइकलको मोडल परिवर्तन गरेर पड्काउने, उडाउने काममा युवाहरुले दुर्घटनाको जोखिम बढाएका छन् ।

स्थानीयले निर्माण सामाग्री सडकमै राख्छन् । पूजापाठ, विवाह ब्रतबन्ध भएमा सडक नै ढाकेर टेन्ट टाँगिन्छ । यी सबै कामले सडक दुर्घटना बढाई रहेको छ । त्यस्ता काममा प्रहरीले चासो बढाउन सकेन भने गंभिर जोखिम बढ्ने सुझाव दिइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा हालै आएका कार्यालय प्रमुख वरिष्ठ सई मीनबहादुर कुँवरले आवस्यक सुझाव माग्दा पत्रकारले दिएको सुझाव र समस्याको चाँङ हो यो ।

त्यस बाहेक सरकारी गाडीले निजी काममा लगाउने, बिदाको दिन पनि आफन्त बोकेर हिंड्ने, भाडादर मनपरी गरेर जिप तथा रातो प्लेटका पिकअपले हैरान बनाउने, विद्यालयका गाडीले क्षमता र मापदण्ड विपरित बालबालिका बोक्ने, जथाभावी रोक्ने काम गरेका छन् । ती विषयमा पनि ट्राफिक प्रहरीले चासो र अनुगमन बढाउनुपर्ने पत्रकारले सुझाव दिए । ट्याक्सीले जथाभावी पार्क गर्दा सवारी जाम पर्ने, अटो रिक्साले तीव्र गतिमा चलाउने, सडकमै फर्काउने गर्दा दुर्घटना बढीरहेको भन्दै पत्रकारले ट्राफिकलाई सचेत गराए ।

पत्रकारको सुझाव पाएपछि कुँवरले कामलाई चुस्तता दिने, भएको जनशक्तीलाई प्रभावकारी रुपमा परिचालन गर्ने र नागरिकको गुनासो नआउने गरी काम गर्ने बताए । त्यसका लागि तत्काल केही काम गरेर देखाउने समेत बताए । सवारी चेकजाँचलाई प्रभावकारी बनाउने उनको भनाइ छ । मोटरसाइकललाई साइलेन्सर फेरेर पड्काउने, उडाउने गर्नेहरुलाई भने गोप्य तरिकाले पत्ता लगाइ कारवाही गर्ने उनले प्रतिबद्दता जनाए । हाल गण्डकी प्रदेशबाट सरुवा भएर आएका कुँवरले जिल्लाको वस्तुस्थिती बुझेर काम गर्ने, सबैको सुझाव संकलन गर्ने र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले ट्राफिकको राम्रो कामको प्रसंशा गर्ने, कमीकमजोरी भए सुझाव दिने र सचेत बनाउने बताए । त्यसका लागि पत्रकारिताले समाजलाई नै जागरण फैलाउने काम पनि गर्ने थापाले बताए ।

पछिल्लो समय मध्यपहाडी लोकमार्गमा लामो दुरीका सवारी गुड्न थालेपछि निसीखोला, ढोरपाटन, बडिगाड लगायतका पश्चिम क्षेत्रमा दुर्घटना बढेको छ । सडक साँघुरो, तीब्र गति र पार्किङको उचित व्यवस्थापन अभावमा ती घटना भभएको भन्दै ट्राफिकले अन्य सुरक्षा निकायको सहकार्यमा सडक सुरक्षाका कार्यक्रम ल्याउनुपर्ने पत्रकारहरुले सुझाव दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->