पोखरा/पोखराको गण्डकी बोर्डिङ स्कुलका सयौँ विद्यार्थी अचानक बिरामी भएका छन । क्याम्पस प्रशासनले बिहिबार रातीदेखि शुक्रबार बिहानपख सम्म झन्डै दुई सय विद्यार्थीहरुमा पखाला लाग्ने समस्या देखिएको जनाएको छ ।
क्याम्पसका निमित्त प्राचार्य कृष्णबहादुर थापाले प्राय सबै विद्यार्थीहरुमा एकैखाले समस्या (पखाला लाग्ने) देखिएको जानकारी दिए । विद्यालयमा ठुलो संख्यामा विद्यार्थीहरु एकैपटक बिरामी भएपछि सामाजिक सञ्जालमा समेत अभिभावकहरुले जिज्ञासा उठाएका छन । एक अभिभावकका अनुसार विद्यार्थीहरुमा एकाएक पेट दुख्ने, टाउको दुख्ने, वाकवाकी हुने, उल्टी हुने, चक्कर आउने लगायतको समस्या देखिएको थियो ।
विद्यालय प्रशासनले भने फुड पोइजनिङ (विषाक्त खाना) को आशंका गरेको छ । थापाका अनुसार बिहिबार विद्यार्थीहरुको मेसमा मासु पकाइएको थियो । सोही मासुका कारण विद्यार्थीहरुमा समस्या देखिएको हुनसक्ने उनले बताए ।
बिरामी भएका केही विद्यार्थीलाई आफन्तलाई बोलाएर घर पठाइएको छ भने केहीलाई विद्यालयको हेल्थ सेन्टरमा राखिएको थियो । थापाका अनुसार विद्यार्थीहरु शुक्रबार घर जान पाउने दिन हो । त्यसका कारण पनि धेरै विद्यार्थी अभिभावकसँग गएका छन भने केही विद्यार्थी छात्रावास (होस्टल) मा नै छन ।
विद्यार्थीहरुमा बिहानको जस्तो समस्या अहिले भने नदेखिएको प्राचार्य थापाले जानकारी दिए । “रातीदेखि बिहानसम्म समस्या देखिएको हो । दिउँसो त बच्चाहरु (विद्यार्थी) खेलिरहेका थिए । अहिले समस्या छैन ।” उनले भने ।





