बागलुङ/बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीमा जिल्लामै पहिलो बनेको छ । दश स्थानीय तह रहेको बागलुङमा ८७.२५ अंक प्राप्त गरेर बागलुङ नगरपालिका जिल्लामै पहिलो भएको हो । पश्चिम बागलुङको निसीखोला गाउँपालिका ८६ अंक प्राप्त गरेर दोस्रो भएको छ ।
कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलका अनुसार, आर्थिक वर्ष २०८०/०८१ को मूल्यांकनमा नगरपालिका पहिलो बनेको हो । यसअघि स्थानीय तहको समग्र पक्षको मूल्यांकन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली (एफआरए) र स्थाीय आर्थिक विकासको प्रर्वद्दनमा सहयोग गर्ने प्रणाली (एलइडी)को मूल्यांकनमा बागलुङ नगरपालिका उत्कृष्ट बनेको हो ।
बागलुङ नगरपालिकाले गरेका कार्यसम्पदानको आधारमा जिल्लामै पहिलो पालिका घोषणा भएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाले वार्षिक रुपमा सम्पादन मुल्यांकन बढाउदै लगेको छ । आर्थिक वर्ष २०७८/७९ मा ७७.५ अंक, आर्थिक वर्ष २०७९/८० मा ८३.७५ अंक र आर्थिक वर्ष २०८०/८१ मा ८७.२५ अंक प्राप्त गरेको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको देशभरको नतिजा अनुसार ८६ अंक प्राप्त गरेर पश्चिम बागलुङको निसीखोला गाउँपालिका दोस्रो भएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन पुनमगरले बताए । पालिकाले कार्य सम्पादनमा प्रगति गर्दै आइरहेको उनको भनाई छ ।
गलकोट नगरपालिकाले ८१ अंक प्राप्त गरेर तेस्रो भएको छ । जैमिनीले ८०.७५, ढोरपाटन नगरपालिकाले ८०, तमानखोलाले ७९.७५, बरेङले ७७.५०, बडिगाडले ७७.२५, ताराखोलाले ७६. ६० र काठेखोला गाउँपालिका ७५.५० अंक प्राप्त गरेका छन् ।





