बागलुङ/एमालेले भदौ २२ देखि २४ गतेसम्म विधान महाअधिवेसन गर्दैछ । उक्त अधिवेसनका लागि सुझाव संकलन अभियान चलाईरहेको छ । गाउँका कार्यकर्तादेखि जिल्ला स्तरमा संकलन गरिएको सुझावमा अधिकांसले खुलेर सुझाव दिएका छन् ।
अधिकांस कार्यकर्ताहरुले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नहुने सुझाव दिएका छन् । राष्ट्रप्रमुख भैसकेको व्यक्ति राजनीतिमा आउँदा पार्टीलाई समेत नकारात्मक असर पर्न सक्ने उनीहरु सुझाव दिएका हुन् ।
छिटफुट रुपमा राजनीतिमा आउन पाउने सुझाव दिएपनि पार्टी सदस्यता त्याग गरेको व्यक्ति पार्टीमै फर्कन पुनः आवेदन गरेर आउनुपर्ने सुझाएको एमाले पुर्व अध्यक्ष जनकराज पौडेलले बताए । ‘स्वइच्छाले पार्टी त्यागेको व्यक्ति नविकरण गरेर नभइ पुनः प्राप्ती गरेर आउनुपर्ने र सम्मानित व्यक्ति राजनीतिमा नआउनुपर्ने सुझाव धेरै आए’ पौडेलले भने, ‘पार्टीको संगठन चुस्त बनाउने र सुशासनमा चासो बढाउने सुझाव पनि आए ।’’
सुझाव संकलनमा आउनुभएका गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले पनि विद्या भण्डारीको पुनरागमन राम्रो नहुने बताए । पार्टीको बैठकमा राष्ट्रपतिमा जानेले राजनीतिमा फर्कन नमिल्ने सुझाव दिएरै पठाएकोमा अहिले फरक धारणा आएको र त्यसले कार्यकर्तामा पनि केही अन्यौल ल्याएको नेताहरुको धारणा थियो । त्यसबाहेक पार्टीको बिधानमा उमेर हद राख्नुपर्ने, निर्णय गरिसकेपछि कार्यान्यन गर्नुपर्ने र कार्यकर्तालाई अन्याय हुने काम पार्टीले गर्न नहुने सुझाव समेत संकलन भएको छ ।
पछिल्लो समय धमाधम भ्रष्टाचारका दर्जनौं घटनाहरु सार्वजनिक भैरहेपनि पार्टी कठोर बन्न नसकेको कार्यकर्ताको सुझाव थियो । हरेक कार्यकर्ताको संपरीक्षण गरिनुपर्ने र उनीहरुको योगदान, श्रम र क्षमताको आधारमा पार्टी, सरकार तथा जनप्रतिनिधिको भूमिका दिनुपर्ने समेत सुझाव दिएका छन् ।
सुझाव संकलनमा ५५ जनाले सुझाव पेश गरेको एमाले नगर अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिए । यसअघि नगर स्तरीय सुझाव संकलनमा पनि ६० बढी कार्यकर्ताले पार्टीका क्रियाकलाप जनमुखी बन्नुपर्ने, हरेक कार्यकर्ताको योगदानको मूल्यांकन गरी सोही आधारमा पार्टीले अवसरको सिर्जना गर्नुपर्ने समेत सुझाएको शर्माले बताए ।
सबै पालिका स्तरको सुझावसहित जिल्ला स्तरीय कार्यक्रममा कार्यकर्ताको सुझाव संकलन भएको हो । आम कार्यकर्ता र इच्छुक बुद्दिजिवीले सुझाव पेश गर्न समय दिइएकोमा सयौंले पार्टीको हितलाई ध्यानमा राखेर सुझाव दिएको शर्माको भनाइ छ ।
पार्टी उपाध्यक्ष बिष्णु भुषालसहित सचिवालय सदस्य अमर थापा, रामकृष्ण शर्मा, चन्द्रमणी उपाध्याय रहेको सुझाव संकलन समिति गठन भएको थियो । समितिले सबै सुझावलाई एकीकृत गरेर पार्टीलाई बुझाउने छ । उक्त समिति संकलनका लागि मात्र भएको र आएका सबै सुझाव एकमुष्ठ केन्द्रमा पठाइने पार्टी अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए ।
सत्तामा पुगेपछि यतिबेला एमालेप्रति नागरिकको अपेक्षाभन्दा निरासा बढेको आरोप लाग्ने गरेको छ । जुन प्रकारको आशा र भरोसा हुनुपर्ने हो त्यो नभएको अबस्थाले सुझावसहित पार्टीले सच्चिएर अगाडि बढ्ने लक्ष्य राखेको सहभागि एक नेताले बताए । विषेश गरी भ्रष्टाचारमा कठोर, सुशासनमा अग्रणी भूमिका र संघियताको हकमा स्थानीय तहलाई बलियो बनाएर जानुपर्ने सुझाव समेत संकलन भएको हो ।
संविधानले पालिकालाई शक्तिशाली बनाइरहेपनि पार्टीको संगठन पालिकामा कामजोर रहेको, जिल्लाको शक्तिशाली भैरहेकोले त्यो संरचना पनि बिधानले फेर्नुपर्ने सुझाव संकलन भएको हो । एमालेले पालिका स्तरमा यसअघि नै सुझाव संकलन गरेको थियो । जिल्लाको समेत सुझाव संकलन गरेर पार्टीका प्रदेश इन्चार्जमार्फत केन्द्रीय समिति र बिधान अधिवेसनलाई पठाइन लागिएको हो ।





