पोखरा/पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले २०७५ भदौमा कास्कीको मादी गाउँपालिकाको केन्द्र याङजाकोटबाट सार्ने निर्णय गर्दै ४ स्थानको बिकल्पसहित प्रदेश सरकारलाई सिफारिश गरे । गाउँसभाका ६३ मध्ये ६० जनाको निर्णयमा वडा नम्बर ४ को बेत्यानी सबैभन्दा उपयुक्त स्थान हुने उल्लेख थियो ।
प्रदेशलाई सिफारिश गरेको २ वर्षपछि गण्डकी प्रदेश सरकारले पालिकाको सिफारिसको आधारमा बेत्यानी उपयुक्त हुने निर्णयसहित संघीय सरकारमा सिफारिश ग¥यो । सिफारिश गरेलगत्तै २०७७ माघमा याङजाकोटका अर्जुन गुरुङ सहितका ८ जनाले केन्द्र सार्ने निर्णय गैरकानुनी र पूर्वाग्रही भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरे । २०७९ माघ १६ मा सर्वाेच्चले उक्त रिट खारेज गर्दै जग्गा किनेर पालिकाको केन्द्र बनाउन भन्यो । न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले फैसला गरेको साढे २ वर्ष पुरा भइसककेको छ, तर गाउँपालिकाको केन्द्रसम्बन्धी विवाद टुङ्गिएको छैन् । झन बल्झिदै गएको छ ।
हाल साविक थुमाकोडाँडा गाविस कार्यालय रहेको वडा नम्बर ३ स्थित पालिकाको केन्द्र बेत्यानीमा सार्नुपर्ने अन्य वडाबासीको माग छ । अदालतको फैसला अनुसार बेत्यानीमै गाउँपालिका केन्द्र बनिसक्नु पर्ने हो । तर गाउँपालिकाले यस विषयमा कुनै चासो नदेखाउँदा केन्द्रको विवाद जहाँको त्यही छ । कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ केन्द्रको विषयमा कुनै प्रक्रिया नै सुरु नभएको बताउँछन् । ठाउँ निश्चित नभई जग्गा कसरी खरीद गर्ने भन्दै उनले कांग्रेस र एमालेबीचको असमझदारीले पालिकाको केन्द्र विवाद अल्झिएर बसेको बताए । अध्यक्ष गुरुङका अनुसार हालकै स्थान वडा नम्बर ३ को याङजाकोट, देउराली, वडा नम्बर ४ को बेत्यानी र मझाँडी बैकल्पिक स्थानका रुपमा रहेका छन् । ‘प्रदेश सरकारले गाउँसभाको निर्णयलाई आधार बनाई बेत्यानीमा केन्द्र बनाउने भन्दै संघमा सिफारिश ग¥यो । संघले निर्णय गर्न नपाउँदै सर्वोच्च अदालतमा मुद्धा प¥यो । पछि सर्वोच्चले उक्त मुद्धा नै खारेज गरिदियो । हालको जनप्रतिनिधिलाई केन्द्र तोक्न म्यान्डेट दिएको छ’, उनले भने, ‘विवाद भएको कुरा छर्लङ्गै छ । प्रस्ताव लैजाने भन्दा राजनीतिक सहमति जुट्दैन । पालिकाकको कार्य परामर्श समितिमा एजेन्डा तयार भएको छ । बहुमतले लैजाने म्यान्डेट नदिएपछि प्रक्रिया अघि नबढेको हो ।’
केन्द्र तोक्ने विषयमा दुई तिहाई पुगेमात्रै यो विषय टुंगिने उनको भनाई छ । संघ र प्रदेशमा कांग्रेस एमाले गठबन्धन भए पनि यहाँ हुन नसक्दा समस्याको समाधान हुन नसकेको उनले बताए । ‘दुवै दलका आआफ्नै अडानले गर्दा केन्द्रको विषय सधै विवादित रहँदै आएको हो’, अध्यक्ष गुरुङले भने, ‘दुवै दल मिले दुई तिहाइ पुग्थ्यो । तर दुवैको एजेन्डा फरकफरक हुँदा सहमति हुन सकेन ।’ कांग्रेसले हालकै ठाउँमा जोड दिएको छ ।
गाउँपालिकाको केन्द्र सबै १२ वटै वडाका लागि पायक पर्ने स्थानमा राख्नु पर्ने र त्यो बेत्यानी नै उपयुक्त हुने वडा नम्बर ४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा बताउँछन् । पालिकाको केन्द्रको विषयलाई संघीय मन्त्रिपरिषद्ले निर्णय गरिदिए उत्तम हुने उनले बताए । ‘पालिकाले पनि यस विषयलाई प्राथमिकतामा राखेर अगाडि बढाए राम्रो हुन्थ्यो । तर अहिले प्रस्तावको वातावरण नै छैन’, उनले भने, ‘सामान्य प्रशासन मन्त्रालयले केन्द्रको विषय छिटो टुग्याउँन भनेर पालिकालाई पत्र पठाएको छ । तर अध्यक्षले यो विषयमा प्रवेश गर्न चाहनु भएको छैन् ।’
केन्द्रको टुङ्गो नलाग्दै गत वर्ष भवन बनाउन ३ करोडको टेन्डर आह्वान भएको थियो, तर कार्यपालिका बैठकले त्यसलाई रोक्ने निर्णय गरेपछि काम अघि बढेन । अहिले केन्द्र भएकै ठाउँमा थप संरचना बनाउनका लागि टेण्डर आह्वान गरिएको थियो । एकातिर केन्द्रको टुङ्गो नलाग्ने, अर्काेतिर साँघुरो भवनबाट सेवा दिनुपर्ने बाध्यता मादीलाई छ ।
एमाले मादी गाउँपालिका कमिटि अध्यक्ष सुवास सापकोटाले केन्द्रको विवाद जहाँको त्यही रहेको बताए । अदालतले बेत्यानी भनेर टुग्याएको भए पनि कांग्रेस नमानेको उनको भनाई छ । ‘यो समस्या अहिलेको जनप्रतिनिधिको पालामा सुल्झिने अवस्था छैन । अर्को निर्वाचनमा कुनै एक दलले दुई तिहाई जितेमात्र टुंगो लाग्ला’, उनले भने, ‘कांग्रेस एमालेबीच समझदारी भए तत्कालै टुंगिन्थ्यो । तर केन्द्रको विषयमा त्यो संभव देखिएन । जनतलाई पायक पर्ने ठाउँमा राख्नु पर्यो र त्यो भनेको बेत्यानी नै उपयुक्त हो ।’
सुरुमा मादीको केन्द्र भैंसेलाई तोकिएको थियो । भूगोलको असहजता र भौतिक संरचना नभएका कारण भैंसेमा संभव नभएपछि याङजाकोटमा कार्यालय राखियो । कामचलाउ केन्द्र ६ महिनाभित्र जनप्रतिनिधिले संशोधन गर्न सक्ने व्यवस्था थियो । ६ महिनामा पालिकाले कुनै निर्णय लिन सकेन । विकल्पमा ३ नम्बर वडाकै देउरालीमा केन्द्र सार्ने र जग्गा खोजी गर्ने कार्यपालिकाले निर्णय ग¥यो । जग्गा प्राप्ति गर्न नसक्दा उक्त निर्णय पनि खेर गयो । त्यसपछि छैटौँ गाउँसभामा मदतानबाटै निर्णय गर्ने तयारी थियो ।
‘साझा बेतेनीको पक्षमा दुईतिहाइ पुग्ने देखिएपछि राजनीतिक विवाद भयो र निर्वाचन प्रक्रिया रोकियो,’ तत्कालीन ७ नम्बर वडाका अध्यक्ष लालबहादुर गुरुङले भने, ‘विवाद गर्नुभन्दा ४ विकल्प सिफरिस गरौँ भनेर प्रदेशमा पठाइएको हो । प्रदेशले पनि बेतेनीलाई निर्णय ग¥यो । केन्द्र सार्ने हो भने मध्यपहाडी लोकमार्गले छुने साझा बेतेनी नै सबैभन्दा उपयुक्त विकल्प हो ।





