आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

फुटपाथमै पार्किङ, खोइ ट्राफिक ?

फुटपाथमै पार्किङ, खोइ ट्राफिक ?

नजिकै रहेको ट्राफिक प्रहरीले पनि ती दृश्य देखेनदेखेझैँ गरेको स्थानीयले गुनासो गरे ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८२, शुक्रबार

बागलुङ/पत्रकार उमाकान्त शर्माले केही दिनदेखि सदरमुकाम बागलुङ बजारमा जथाभावी सवारी पार्किङ गरेको तस्वीर सामाजिक संजालमा पोष्ट गरे । उनले कसैलाई गाली गरेनन्, केवल जे भएको थियो त्यो देखाइदिए ।

ट्राफिक चोकदेखि टेलिकम चोक सम्मको सडकमा दायाँबायाँ फुटपाथ बनाइएको छ । सडकमा गाडी गुड्ने, फुटपाथमा मानिस हिंड्ने नियम बनिसकेको छ । अधिकांस यात्रीले आजकल फुटपाथ प्रयोग गर्छन् । तर ट्राफिक चोक नजिकै दर्जनबढी ट्याक्सी पार्क गरिन्छ । त्यहीं पिकअप गाडी समेत पार्क गरिएका छन् । ती पिकअप जिपले फुटपाथ ढाकीने गरी पार्क गरिदिंदा यात्रीले चाहेर पनि किनाराबाट हिंड्न पाएका छैनन् ।

दोश्रो हो समीक्षालय चोकको हुलाक भवनको पेटीमै मोटरसाइल पार्किङ । यो पार्कले पनि नागरिकहरु साइड लगाएर हिंड्न पाएका छैनन् । चारतिरको सडकमा सवारी आइरहन्छन् । बीच सडकमा हिंड्दा दुर्घटनाको जोखिम छ । तसर्थ फुटपाथ प्रयोग गर्न नगरपालिकाले नागरिकलाई अनुरोधसमेत गरेको छ । तर, आम नागरिकलाई हिँड्नै नमिल्ने गरी सवारी पार्क गरिदिँदा दुर्घटनाको जोखिम बढेको हो ।

बागलुङ नगरपालिकाले केही दिनदेखि नगर प्रहरी खटाएर चोकचोकमा जथाभावी पार्क तथा सडक ढाकेर सामाग्री राख्ने प्रवृत्ति समेत रोक्ने प्रयास गरेको छ । तर गाडी चालक र सवारी धनीले नियम पालना गरेको भेटिंदैन ।

कतिपय स्थानमा दोहोरो पार्क गरेर सडकमा गुड्ने सवारीलाई समेत सास्ती पर्ने गरेको छ । निर्माण सामग्री राखेर अप्ठ्यारो पार्ने, सामान लोड अनलोड गर्ने गरी ठूला सवारी घण्टौँ रोकीदिने कार्यले पनि सडकको सुन्दरतामा असर परेको देखिन्छ । नजिकै रहेको ट्राफिक प्रहरीले पनि ती दृश्य देखेनदेखेझैँ गरेको स्थानीयले गुनासो गरे ।

‘कुन ठाउँ पार्किङ हो, कुन ठाउँ खुला राख्ने हो भन्ने ट्राफिकले समेत वास्ता नगरेपछि पैदलयात्रीले समस्या भोगेका छन्,’ बागलुङ नगरपालिका वडा नं. २ का सदस्य अर्जुन घिमिरेले भने, ‘बागलुङ बजारमा ट्राफिक प्रहरी पनि छ र ? भन्ने अवस्था भएको छ ।’ यस्ता धेरै गतिविधि बागलुङ बजारमा देख्न पाइने र यात्रीले सास्ती खेप्ने उनले बताए ।

ट्राफिक प्रहरी प्रमुख मिनबहादुर कुँवरले जनताको गुनासो नआउने गरी काम गर्ने बताए । उनले बजार अनुगमन, सवारी साधनको चेक र जथाभावी सवारी चलाउनेलाई कारवाही गर्ने बताए । उनले लुकेर नभइ सहजै रुपमा अनुगमन गर्ने, नागरिकलाई ट्राफिक भएको अनुभूति दिने बताएका छन् ।

जिल्लामा आएको एकसाता मात्रै भएकोले उनले सबै अध्ययन गरेर पैदलयात्रीलाई समस्या नपर्ने गरी काम गर्ने बताएका छन् । केही मोटरसाइकल समातिसकेको र बसपार्क सरेकोले केही दिन व्यस्त भएकोले हेर्न नभ्याएको भन्दै दोहोरो पार्क गर्नेलाई तत्काल कारवाही गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->