बागलुङ/नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष भुपेन्द्र खनालले कानून व्यवसायीहरु संवैधानिक सर्वोच्चता र न्यायका लागि सबै निकायमा हातेमालो गर्न तयार रहेको बताएका छन् । तर, कसैको स्वार्थमा साथ दिएर कानूनी शासनको खिल्ली उडाउने काम नगर्ने बताएका छन् ।
उच्च अदालत बार एसोसिएसन बागलुङको ४७ औं वार्षिक साधारणसभा तथा ३३ औं अधिवेसनको उद्घाटन गर्दै खनालले पेशागत सुरक्षा मात्र नभइ नागरिकलाई न्याय दिने काममा बार सधैं अगाडि रहने बताए । उनले न्याय क्षेत्र विकृत भयो भने देशको सबै क्षेत्र भ्रष्ट हुने भन्दै कानूनी शासनका लागि लडिरहने बताए । ‘देशमा कानूनी शासन भएन भने अरु राम्रो छ भनेर भएन’ उनले भने, ‘बार भनेको सामाजिक अगुवा हो, जसले नागरिकको अधिकारका लागि लड्छ ।’ कानूनको पालनाका लागि राज्यका निकायलाई जगाउने काम पनि बारले गर्ने बताए ।
आम नागरिकले न्याय पाउनका लागि र राजनीतिक नेतृत्वले पनि सही निर्णय लिने बेला बारको सहयोग चाहिने भएकोले बारका सदस्य समेत इमान्दार, कर्तव्यनिष्ठ र निडर बन्नुपर्ने बताए । उनले बारले विगतमा १ सय दिनसम्म गरेको आन्दोलन पनि कानूनी शासनको स्थापनाका लागि भएको भन्दै अझै ती आन्दोलनलाई संस्थागत गर्न बाँकी रहेको बताए ।
हाल संवैधानिक इजलासमा आएको समस्यादेखि न्यायाधिस नियुक्तीमा समेत राजनीतिकरण बढी भएको भन्दै उनले बारले विधि अनुसारको नियुक्तीमा मात्रै जोड दिने, वरिष्ठलाई सम्मान गर्ने र हाम्रा नभइ राम्रा मानिस नियुक्तीको पहल गर्ने बताए ।
कार्यक्रममा उच्च अदालत बागलुङका मुख्य न्यायाधिस नातीबाबु लामिछानेले भुईंमान्छेहरुले पनि न्याय पाउने गरी बारले काम गर्नुपर्ने बताए । उनले लागतमुखीभन्दा परिणाममुखी न्याय चाहिएको भन्दै न्यायालयको आँखाको रुपमा बारले काम गर्नुपर्ने बताए ।
समाजमा न्याय मरेको छैन है भन्ने सन्देश दिन पनि कानून व्यवसायी सक्रिय रहनुपर्ने लामिछानेको धारणा थियो । उनले न्याय माग्न आएको नागरिकलाई बिमुख बनाउर पठाउन कसैले नमिल्ने भन्दै अदालतले सही वा गलत फैसला गर्छ भन्ने होइन, कानून व्यवसायीले सहीलाई सही देखाइदिन सकेमा फैसला सही आउने बताए ।
उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष रमेशबहादुर खड्काको अध्यक्षता, सचिव उमा शंकर सापकोटाको संचालन र उपाध्यक्ष हरिकृष्ण सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, गणेश कुँवर, कृष्णप्रसाद शर्मा निउरे, काजी गाउँले श्रेष्ठ, हरिप्रसाद शर्मा, भूमिश्वर गौतम र केशव पराजुलीले कानूनी शासनका लागि बारले समाजको अगुवाइ गर्नुपर्ने बताए ।
उक्त अवसरमा जिल्ला न्यायाधिस रमेश कान्त अधिकारी, पुर्व अध्यक्षहरु निरन्जनलाल राजभण्डारी, राम शर्मा, राजु गौतम, अखिलनाथ शर्मा, महिला केन्द्र प्रमुख लक्ष्मीदेवी जिसी कार्की, पूर्व सहसचिव ममतादेवी शर्माले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला न्यायाधिस अधिकारीलाई सोही समयमा बिदाइ समेत गरियो । २ वर्षे कार्यकाल सकेर सरुवा भएका अधिकारीले न्याय सम्पादनमा सबैको साथले सफल भएको बताए ।
बारले वरिष्ठ अधिवक्ताहरु र पुर्व अध्यक्षलाई सम्मान पनि गरेको थियो । खड्का नेतृत्वको बारलाई सहयोग गरेको भन्दै अधिवक्ताहरु उमाशंकर सापकोटा, लक्ष्मी बास्कोटा, हरिप्रसाद गौतम, विष्णुप्रसाद शर्मा, प्रकाश बराल र गीता श्रीषलाई सम्मान गरिएको थियो । बार अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्व चयनका लागि वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठको नेतृत्वमा अधिवक्ताहरु डिल्लीराज गौतम र ज्ञानेन्द्रराज पन्त रहेको समिति समेत गठन गरेको छ ।





