पोखरा/ स्थापनाको २८ वर्ष पछि पोखरा विश्वविद्यालयले काठमाडौं उपत्यकामा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका–९, च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई विश्वविद्यालयले आंगिक क्याम्पसमा रूपान्तरण गरी सञ्चालन गर्ने भएको हो ।
यसअघि पोखरा उपत्यकाबाहिर आंगिक महाविद्यालय विस्तार गर्ने प्रयास भए पनि सफल हुन नसकेकोमा हालै बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले श्रमिक शान्ति क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो । यो निर्णय श्रमिक शान्ति क्याम्पस सञ्चालक समितिको बैठक, क्याम्पस सभाको बैठक तथा पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयका आधारमा गरिएको हो ।
सोही निर्णयअनुसार २०८२ साउन २७ गते भएको समझदारी पत्रमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज के.सी. र रजिष्ट्रार सह–प्रा.डा. अजय थापा तथा श्रमिक शान्ति क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र क्याम्पस प्रमुख रोशन मैनालीले हस्ताक्षर गरेका थिए । यस्तै त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन लिई कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायीक क्याम्पस श्रमिक शान्तिलाई पोखरा विश्वविद्यालयको आंगिक क्याम्पसमा सञ्चालन गर्ने सम्बन्धमा पोखरा विश्वविद्यालयका उपकुलपति केसी र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । श्रमिक शान्ति २०६४ मा स्थापना भएको थियो ।
यसै शैक्षिक सत्रदेखि श्रमिक शान्ति क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ ब्याचलर अफ आर्टस् ब्याचलर अप ल (बिएएलएलवी) कार्यक्रम ४० विद्यार्थी क्षमतासहित, व्यवस्थापन संकायतर्फ ब्च्यालर अफ कम्प्युटर सिस्टम एन्ड इन्फरमेशन टेक्नोलोजी (बिसीएसआइटी) कार्यक्रम ४८ विद्यार्थी क्षमतासहित र विज्ञान तथा प्रविधि संकायतर्फ ब्याचलर अफ आर्टिफिसियल इन्टेलीजेन्स एन्ड डाटा साइन्स (बिएआईडीएस) कार्यक्रम ४८ विद्यार्थी क्षमतासहित सञ्चालन गर्ने गरी भर्ना प्रक्रिया समेत अगाडि बढाइएको छ । यिनमध्ये बिएएलएली र बिसीएसयआइटी कार्यक्रम विश्वविद्यालयमा पहिलेबाट सञ्चालनमा रहेकामा बिएआईडीएस भने नयाँ कार्यक्रम हो ।

यससँगै पोखरा विश्वविद्यालयअन्तर्गत आंगिक महाविद्यालयहरूको संख्या पाँच पुगेको छ । यसअघि २०५६ मा स्कूल अफ बिजनेस, २०५७ मा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, २०६० मा स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ र २०६६ मा स्कूल अफ इन्जिनियरिङ आंगिक क्याम्पसका रूपमा स्थापना भएका थिए । हाल यी चार आंगिक स्कूलमा ४२ कार्यक्रम सञ्चालनमा छन् र ३४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
सहमति अनुसार श्रमिक शान्ति क्याम्पसमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धनमा सञ्चालन भइरहेका बिबिएस र एमबीयस कार्यक्रममा नयाँ भर्ना रोकिएको छ । तर, हाल भर्ना भइसकेका विद्यार्थीले आफ्नो शैक्षिक अवधि पूरा नभएसम्म सोही कार्यक्रममा निरन्तरता पाउने पोखरा विश्वविद्यालयक सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।





