पोखरा/पोखराको न्यूरोडस्थित गुरुङ गहना घरले सडक सौंन्दर्यकरणमा पोखरा महानगरलाई साथ दिएको छ । गहना घरले न्यूरोड सडकबीचमा ५ सय सयपत्री फूलका बिरुवा रोपेको छ । महानगरपालिकाले आफ्नो घर, पसल क्षेत्रमा सकेसम्म आफैले फूल र रुख रोप्न आव्हन गरेपछि त्यसलाई साथ दिएको गहना घरले जनाएको छ ।
गहना घरका प्रबन्ध निर्देशक सीमा गुरुङले नागरिक र व्यवसायीको दायित्वअनुरुप फुलका बिरुवा रोपेको बताउँदै सौन्दर्यकरणमा आगमी दिनमा पनि सहयोग गर्ने जानकारी दिइन् । उक्त क्षेत्रमा रोपिएका पूmललगायतका बिरुवा हुर्काउन र संरक्षण गर्नसमेत योगदान दिने गुरुङको भनाई छ ।
यसैबीच, महानगरका नगर प्रमुख धनराज आचार्यले आफ्नो घर तथा पसल अगाडि लगाइएका बिरुवाहरूको नियमित गोडमेल तथा संरक्षणका लागि नगरवासीहरूलाई आग्रह गरेका छन् ।
उनले महानगरपालिका क्षेत्रमा लामो अध्ययनपश्चात् वन विज्ञान अध्ययन संस्थानको सुझावअनुसार ७ सय किलोमिटर सडक तथा राजमार्ग, झन्डै ६७ किलोमिटर नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू लगाइने जानकारी दिए ।





