पोखरा/माछापुछ्रे गाउँपालिका–८, वडा कार्यालयले गृहिणी महिलाका लागि एक दिने उद्यमशिलतासम्बन्धी अन्तक्र्रिया सम्पन्न गरेको छ । घर धानेर बसिरहेका महिलाले कसरी आम्दानी गर्न सक्छन् भन्ने जानकारी दिनका लागि अन्तरक्रिया आयोजना गरिएको हो ।
माछापुछ्रे गाउँपालिका–१ का वडा सदस्य पुर्खा बहादुर पुनले स्थानीय सरकार तथा संघ–संस्थाले विभिन्न किसिमका तालिमहरु प्रदान गरे पनि बजारिकरणमा ध्यान नदिँदा ती प्रयासहरू प्रयोगविहिन जस्तै भएको बताए । उनले उद्यमशीलतालाई बजारीकरणमा जोड्न सकेमा मात्रै सफलता हासिल हुने बताए ।
युवा उद्यमी तथा समाजसेवी सबिता बरालले महिलाहरूले पुरुषभन्दा बढी मिहिनेत गर्ने भए पनि त्यो श्रम आर्थिक रूपमा नजोडिएकै कारण देखिन नसकेको बताइन् । उनले महिलाको श्रमलाई प्रत्यक्ष आय आर्जनसँग जोड्न सकेमा आत्मनिर्भर समाज निर्माण हुने बताइन् ।
माछापुच्छे गाउँपालिकाकी उप–प्रमुख सीता अधिकारीले महिलालाई उद्यमशीलताको माध्यमबाट आय आर्जन गराई आत्मनिर्भर बनाउन पालिका सद्यैँ कटिबद्ध रहेको बताइन् । स्थानीय उत्पादनलाई प्राथमिकता दिने र गृहिणी महिलाले उद्यमशीलतामा अब ध्यान दिन आवश्यक रहेको सुनाइन् ।
संविधान सभा सदस्य तथा शान्ताको अचारका सञ्चालक शान्ता चौधरीले आफ्नो उद्यमशीलताको अनुभव सुनाउँदै महिलामा बोल्ने शक्ति, हिम्मत, साहस र आत्मनिर्भरता भए अपमान सहनु नपर्ने बताइन् । आफ्नै गाउँघरमा उत्पादित अचारजन्य सामग्रीलाई व्यवसायिक रुपमा प्रवद्र्धन गरी आत्मनिर्भर बन्नुपर्नेमा उनको जोड थियो । उनले अचार व्यवसायलाई टिकाउ बनाउन बजार व्यवस्थापनको जिम्मा लिने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
वडाध्यक्ष रामबहादुर गुरुङले अचार उद्यमलाई अन्य उद्यमभन्दा फरक र सफल हुने विश्वास व्यक्त गरे । उनले भने, ‘अन्य उद्यममा कच्चा पदार्थ र आवश्यक सामग्री बजारबाट किन्नुपर्ने भएकाले प्रायः असफल हुने गरेका छन् । तर, अचार व्यवसायमा कच्चा पदार्थ यही गाउँमै उत्पादन हुन्छ र बजारको कमी पनि छैन। त्यसैले यो कार्यक्रम सफल हुनेमा विश्वास लिएको छु ।’
उनले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिंदै उद्यमशील गतिविधि निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।





