बागलुङ/बागलुङ जेसीजले साताव्यापी कार्यक्रम शुरु गरेको छ । नयाँ प्रकृतिका कार्यक्रम जोडेर यो वर्षको सप्ताह गर्न लागिएको बागलुङ जेसीज वर्ष २०२५ का अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए ।
बुधबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जेसीज सप्ताहको उद्घाटन गरे । उनले जेसीजले युवाहरुको बौद्दिक मात्र नभइ सामाजिक र रचनात्मक क्षमता पनि बढ्ने बताए । साथै, जेसीजमा आबद्द भएका युवाहरु सक्रिय भएमा समाजमा भएका विकृति विसंगती अन्त्य गर्न पनि सफल हुने धारणा राखे ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सौरभ श्रेष्ठले जेसीज अभियानले युवाहरुलाई उद्यमशिल बनाएको, सामाजिक काममा सक्रियता बढाएको र खेलसहित बौद्दिक क्षमता पनि बढेको बताए । पछिल्लो समय जेसीजले रचनात्मक काममा सक्रियता देखाएको र पूर्व अध्यक्षहरुको लिडर्स क्लबले थप हौसला थपेको उनले बताए ।
बागलुङ जेसीजले यो वर्ष दुइ जना युवालाई सम्मान गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ मा ड्राइक्लिनर्स संचालन गर्दै आएकी शर्मिला पौडेल र यातायात व्यवस्था कार्यालय बागलुङकी प्रमुख गुमादेवी शर्मालाई सम्मान गरिएको हो । युवा अवस्थामा उद्यम गरेर उत्कृष्ट बनेकी पौडेलले ड्राइक्लिनर्समार्फत नियमित सेवा संचालन गरिरहेकी छिन् ।
शर्मा भने सानो उमेरमा सरकारी सेवाको अधिकृतमा प्रवेश गरेर उपसचिव हुँदै यातायात व्यवस्था कार्यालयको प्रमुख समेत भैसकेकी छन् । बानपा १३ की शर्माका ६ भाइबैनी छन् । बाबुले दुःख गरेर पढाएपछि शर्माका ४ दिदीबैनी र एक भाइले सरकारी सेवामा नाम निकालेर काम गर्न सफल भएका छन् ।
बागलुङ जेसीजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठको अध्यक्षता, महासचिव स्वीकृति भारीको संचालन र कार्यकारीणी उपाध्यक्ष प्रेमप्रसाद ढकालको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज बोसेल, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, सम्मानित शर्मा, धौलागिरि बहुमुखी क्याम्पसकी स्ववियु सभापति आस्मिन शेख लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जेसीजले यो वर्ष स्वस्थ्य बच्चा प्रतिस्पर्धा, मेयरसँग विद्यार्थी, स्लो बाइक रेश, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र मैत्रीपुर्ण फुटसल कार्यक्रम समावेश गरेको छ । हरेक वर्ष जेसीजले सप्ताहसहित जेसीज कप फुटबल पनि आयोजना गर्दै आएको छ ।





