पोखरा/गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल बुधवारबाट अवकाशमा गएका छन् । पोखरेललाई २०७७ भदौ १९ गते तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका थिए । समयावधि सकिएकाले उनी अवकाशमा गएका हुन् ।
पोखरेललाई प्रदेशसभा सचिवालयले पठाएको पत्रका आधारमा मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले अवकाशपत्र दिएका थिए । सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापासहित प्रदेशसभा सचिवालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीको उपस्थितिबीच उनको बिदाई गरिएको हो । पोखरेलले आफ्नो पाँचवर्षे कार्यकाल विवादरहित तरिकाले सफल बनेको दावी गरे । प्रदेशसभा सचिवालयको बेरुजु शून्य रहनुलाई मुख्य उपलब्धी रहेको उनको भनाई थियो ।
सभामुख धितालले पोखरेलको अनुभव प्रदेशसभालाई आवश्यक पर्ने हुँदा सल्लाहकारको रूपमा पुनः भेट हुने बताए । उपसभामुख थापाले पनि बिदाइको क्षणमा दुःख लागेता पनि पोखरेलको योगदानको कदर गर्दै खुसी हुुुनुपर्ने बताइन् । कर्मचारीका तर्फबाट लेखा अधिकृत पदमराज बरालले पोखरेलकै अगुवाइका कारण प्रदेशसभा सचिवालय व्यवस्थित बनेको बताए । अर्का कर्मचारी गीता दवाडीले कविता वाचनमार्फत पोखरेलको कार्यकालको स्मरण गरिन् ।





