बागलुङ/नेपाल निजामती कर्मचारी युनियनको ३५ औं स्थापना दिवशको अवसरमा जिल्ला कार्यसमिति बागलुङले धार्मिक तीर्थस्थल समेत रहेको मुक्तिनाथ वेदविद्याश्रम संस्कृत पाठशालामा खाद्यान्न वितरण गरिएको छ ।
बिहिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य कल्पना हमाल पाठकले आश्रममा सामाग्री हस्तान्तरण गरिन् । उनले निजामती कर्मचारीहरुले जागिर खाने काम मात्र नगरी सामाजिक सेवाको क्षेत्रमा पनि काम गर्दै आएको बताइन् । उनले कर्मचारीहरुले राष्ट्रसेवा र जनसेवामा पनि सक्रियता देखाउनुपर्ने धारणा राखिन् ।
नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देवप्रकाश घिमिरेको अध्यक्षता, सचिव सुजन श्रेष्ठको संचालनमा सम्पन्न भएको कार्यक्रममा आधिकारिक ट्रेड युनियन बागलुङका उपाध्यक्ष दुर्गाप्रसाद शर्मा र मुक्तिनाथ वेदविद्याश्रमका शिक्षक इन्द्रमणी अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
युनियनले पालिका तहमा पनि स्थापना दिवश मनाउने भएको छ । युनियनले अन्य विभिन्न कार्यक्रममार्फत सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ ।





