बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एमालेको विधान महाधिवेशन सुरु, ०८४ मा एकल बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी

एमालेको विधान महाधिवेशन सुरु, ०८४ मा एकल बहुमत ल्याउने अध्यक्ष ओलीको दाबी


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८२, शुक्रबार

ललितपुर / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु भएको हो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार ललितपुरको सनराइज सभा हलमा महाधिवेशनको उद्घाटन गरेका छन् । उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । उनले उक्त निर्वाचनमा आफूहरू पनि सरकारमै हुने भन्दै धाँधली हुन नदिने पनि ठोकुवा गरे । ‘०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ । कम्तिीमा एकल बहुमत ल्याउनुपर्छ । यदी हामी जनताका बीचमा सक्रियतापूर्वक गयौं भने, हाम्रा सदस्य र समर्थक परिचालन गरेर गयौं भने बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौं,’ ओलीले भने ।

उनले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुने पनि बताए । ‘हामी सरकारमा छौं । आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन । हामी सरकारमा रहेर नै धाँधली रोक्नेछौं । निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ,’ प्रधानमन्त्री ओलीले भने । उनले यस्ता परिस्थितिलाई ध्यानमा राखेर अघि बढ्न नेता कार्यकर्तालाई उनले निर्देशन गरे ।

अध्यक्ष ओलीले नेपालको सुरक्षा, प्रशासन र जलस्रोतका कतिपय पक्षमा वाह्य शक्ति राष्ट्रहरूले ‘सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेण्ट)’ को हदसम्म प्रयास गरेको टिप्पणी सहितको राजनीतिक प्रतिवेदन विधान अधिवेशनमा पेश गरेका छन् । राजनीतिक प्रस्तावमा राष्ट्रवादको व्याख्या गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले ‘कतिपय असमान-अपमानजनक सन्धि यथावत रहँदा नेपालको सार्वभौमसत्तामा आँच पुगिरहेको र ‘राज्य कमजोर भएको बेला मुलुकको राजनीतिमा वाह्य चासो र हस्तक्षेप हुने गरेको’ निष्कर्ष निकालेका छन् ।
‘नेपालको सुरक्षा, प्रशासन र जलस्रोतका कतिपय पक्षमा बाह्य शक्ति राष्ट्रहरूले “सूक्ष्म व्यवस्थापन ९माइक्रो म्यानेजमेन्ट०’ को हदसम्म प्रयास पनि गरेको देखिन्छ’ अध्यक्ष ओलीले भनेका छन्, ‘त्यसैले नेपाललाई स्वतन्त्र, सार्वभौम र आत्मनिर्णयको अधिकारले युक्त राष्ट्रको रूपमा विश्लेषण गरिरहँदा हामीले राष्ट्रिय स्वाधीनताका यी विषयहरूमा स्पष्ट, सजग हुँदै राष्ट्रिय सार्वभौमसत्ता बलियो बनाउने अभियानलाई निरन्तरता दिनुपर्छ ।’

उनले राष्ट्रवादको पनि बदलिँदो परिस्थिति अनुरूप थप व्याख्या गर्नुको आवश्यकता औंल्याएका छन् । उनले राष्ट्रवाद मूलतः आफ्ना राष्ट्रिय हितहरूको रक्षा भएको उल्लेख गरेका छन् । उनले नेपालको राष्ट्रवाद कुनै अमुक राष्ट्रको विरोधमाथि आधारित नरहेको ठहर गरेका छन् ।

‘हामी स्वतन्त्र, सार्वभौम र स्वाधीन राष्ट्रको रूपमा सम्मानित ढङ्गले विश्व राजनीतिक रङ्गमञ्चमा उभिन चाहन्छौं। हाम्रा छिमेकीहरूसँग सार्वभौम समानता, अहस्तक्षेप, पारस्परिक लाभ र स्वतन्त्रतामाथि आधारित सौहार्द्र सम्बन्ध विकास गर्न चाहन्छौं’ ओलीको प्रतिवेदनमा छ ।

उनले नेपाली भूमि कसैका विरुद्ध पनि प्रयोग हुन नदिने र अरुको भूमिबाट पनि नेपालमाथि कुनै पनि गतिविधि नहोस् भन्ने चाहेको उल्लेख गरेका छन् । ‘छिमेकीहरूसँगको युगौं पुरानो सम्बन्धलाई बदलिंदो समय र परिप्रेक्ष्य अनुरूप पुनर्परिभाषित र नवीकृत गर्न चाहन्छौं । यसलाई आर्थिक समृद्धिका विषयमा केन्द्रित गर्न चाहन्छौं,’ ओलीले भनेका छन् ।

नेपालको प्राकृतिक स्रोतमाथि नेपाली जनताको अधिकारलाई अक्षुण्ण राख्दै यसको लाभ अन्य छिमेकी मुलुकसँग पनि साझेदारी गर्न चाहेको ओलीको प्रतिवेदनमा छ । ‘हामी सुरक्षा, परराष्ट्र सम्बन्ध, राजनीतिक व्यवस्था र आर्थिक विकास लगायत विषयमा आफ्नो निर्णय आफै गर्न स्वतन्त्र छौं । हाम्रो बहुपक्षीय सम्बन्धलाई कसैले पनि शङ्काको नजरले हेर्न हुँदैन’ उनले प्रतिवेदनमा भनेका छन्,’ हामी कसैको पक्ष या विपक्षमा कुनै गठबन्धनमा सामेल हुँदैनौँ ।’

नेपालको अस्तित्व संधैभरि एउटा सार्वभौम र स्वतन्त्र राष्ट्रको रूपमा रहँदै आएको उल्लेख गर्दै संयुक्त राष्ट्र प्रारम्भिक सदस्यहरूमध्ये एक नेपालले स्वतन्त्र ढङ्गले अन्तर्राष्ट्रिय मञ्चहरूबाट शान्ति स्थापना लगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भनेका छन् । विगतका कतिपय शासकहरूले आफ्ना तानाशाही सत्ताको रक्षाका लागि ‘राष्ट्रवाद’ को दुरूपयोग गरेको ओलीको धारणा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->