पोखरा/नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमो बृहत् शैक्षिक मेला सुरु भएको हो ।
मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले इक्यानले विद्यार्थीलाई विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग जोड्ने महत्त्वपूर्ण कार्य गरेको बताए । उनले भने, ‘मेलाले हजारौं विद्यार्थी तथा अभिभावकलाई सही जानकारी, अवसर र सम्भावनासँग प्रत्यक्ष परिचित गराउनेछ ।’
इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले कोभिड महामारीका कारण केही वर्षदेखि स्थगित भएको मेलालाई निरन्तरता दिन सफल भएकोमा खुसी व्यक्त गरे ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले हिजोका दिनमा काठमाडौँमा मात्र सुरु भएका यस्ता गतिविधिहरू अहिले विभिन्न प्रदेश र जिल्लाहरूमा पनि भइरहेको बताए ।
इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले काठमाडौंमा २९औं स्थापना दिवस मनाइरहँदा इक्यानले विद्यार्थीलाई विदेशका उत्कृष्ट कलेजमा भर्ना प्रक्रियामा मात्रै नभइ,उनीहरूलाई नेपालको विकासक्रममा फर्काउने प्रयास पनि गरेको बताए ।
इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले करियर काउन्सिलिङ, भर्ना र भिसा प्रक्रियाबारे सम्पूर्ण जानकारी दिने एउटा प्रमुख गन्तव्यका रूपमा पोखराको इक्यान मेला स्थापित भएको उल्लेख गरे ।
इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० परामर्श केन्द्र शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती संस्थाबाट विश्वसनीय सेवा लिन सकिने बताए ।
टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले मेलालाई भव्य बनाउन सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
इक्यानले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर मेला आयोजना गरेको हो । यो गण्डकी प्रदेशकै सबैभन्दा ठूलो शैक्षिक मेला भएको आयोजकको भनाइ छ । मेला शनिबारसम्म चल्नेछ ।
मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था र ब्रिटिस काउन्सिलसहित ६५ वटा स्टल छन् ।





