बागलुङ/वर्षात लागेपछि पहिला पहिला झाडापखालाका बिरामी बढी देखिन्थे । खानपानमा ध्यान नदिँदा, फोहोर पानी लगायतले ती रोग देखिने गरेकोमा पछिल्लो समय सफा पानीबाट पनि रोगहरु सर्ने अवस्था बनेको छ । त्यतिले मात्र हैन, पछिल्लो समय बढेको झाडी, घाँस लगायतले पनि रोगको संक्रमणमा थप मद्दत पुगेको देखिएको हो ।
अघिल्लो वर्ष वर्षातमा डेंगुका बिरामी धेरै थिए । अस्पतालमा पनि डेंगु पीडितहरुको ठूलो संख्या भेटिन्थ्यो । यो वर्ष भने स्क्रब टाइफसको बिरामी भेटिएका छन् । सफा पानी जम्दा डेंगुका बिरामी बढेका थिए भने घाँसपात बढ्दा स्क्रब टाइफसको बिरामी बढेका छन् ।
अस्पताल पुगेका बिरामी होउन् वा घरमै बसेकाहरूमा यो रोगको संक्रमण देखिएको हो । गलकोट, बडिगाड लगायतका स्थानमा यो रोगका बिरामी बढी देखिएको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षय कुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।
झारपातमा बस्ने कुराहरुको टोकाइबाट सर्ने यो रोगले संक्रमित लाई उच्च ज्वरो आउने गर्छ । डेंगु जस्तै ज्वरो आउने, टाउको दुख्ने र शरीरमा राता दाग आउने गर्छन् । गलकोट नगर अस्पतालमा आएका अधिकांस बिरामीमा यस्तै लक्षण देखिएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत लक्ष्मी शर्माका अनुसार, जिल्लामा यतिबेला २० जना मात्रै डेंगुका बिरामी देखिँदा १ सय ५८ जना स्क्रब टाइफसको बिरामी भेटिएका हुन् । उच्च ज्वरो र शरीर दुख्ने भएर उपचारमा गएकाहरु अधिकांशमा स्क्रब टाइफस देखिएको हो ।
गलकोट नगरपालिकाभित्र मात्रै १ सय ३५ जनामा यो संक्रमण देखिएको हो भने बरिगाडमा ८ जना र तारा खोलामा ४ जना बिरामी भेटिएका हुन् । उनीहरु मध्ये १ सय ५३ जनाकै गलकोटमा पुष्टी भएको हो । धौलागिरि अस्पतालमा ४ र अन्य एकको बुर्तिवाङ अस्पतालमा गरिएको परीक्षणमा पुष्टी भएको हो ।
उच्च ज्वरो र शरीर दुख्ने समस्या भएमा तत्काल उपचारमा आउन स्वास्थ्यकर्मीले आब्हान पनि गरेका छन् । उनीहरुले झाडीमा नजान, जानुपर्दा लामो बाहुला भएको कपडा लगाएर जान सुझाव दिएका छन् । त्यस्तै संक्रमित हरुले खानपानमा ध्यान दिने, समयमा उपचार गर्ने र स्वास्थ्यकर्मीको सल्लाहले मात्र औषधी सेवन गर्नुपर्ने शर्माले सुझाव दिइन् ।
शर्माका अनुसार, डेंगु पनि गलकोटमा धेरै भेटिएका छन् भने अन्य पालिकामा पनि छिटफुट बिरामी छन् । लामखुट्टेबाट सर्ने भएकोले डेंगुविरुद्ध सचेत रहनुपर्ने, पानी जम्न नदिने, सरसफाइ गर्ने लगायतको सुझाव दिइएको हो । सरसफाइ नभएमा र पानी जम्ने अवस्था भएमा मंसिरसम्म पनि यस्ता रोगको संक्रमण भइरहने स्वास्थ्यकर्मीको भनाइ छ ।





