पोखरा/ जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइएको छ । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् ।
उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको जनाएका छन् । विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको र यसले केवल शैक्षिक क्षेत्र मात्र नभई समग्र नेपाली समाजलाई स्तब्ध बनाएको विज्ञप्तिमा छ । ‘यस अकल्पनीय घटनाले हामी सबैलाई गहिरो पीडा दिएको छ । हामी दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दछौँ । शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । साथै, उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यस्तो दुःखद बिषयमा निर्णय लिनु परेको यस मार्मिक र पीडादायी घडीमा, मिति २०८२ भाद्र २४ र २५ गते शोक बिदा दिने निर्णय गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त सिवज्ञप्तिमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।
आज पोखरामा निजी विद्यालय बन्द रहने
यसैबीच कास्कीका निजी विद्यालयहरुले मंगलबार बिदा दिने भएका छन् । प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतमका अनुसार सोमबार दिनभर प्रदर्शनका क्रममा विद्यार्थी र अभिभभावक समेत अलमलमा परेकाले मंगलबार एक दिनका लागि बन्दको निर्णय गरिएको हो । कास्कीमा रहेका निजी क्षेत्रका सबै विद्यालयहरु १० जोड २ र मन्टेसरी समेत बन्द रहनेछन् । अरु दिन बिदा थप्ने बारेमा आज बैठक बसेर निर्णय गरिने गौतमले बताए ।





