पोखरा/सामाजिक सञ्जाल बन्द भएपछि स्वतः स्फूर्त रुपमा सडकमा निस्केको जेनजी (नयाँ पुस्ता) को दुई दिने आन्दोलनले सत्ता हल्लाइदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् भने राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी पुस्तालाई वार्तामा आउन आह्वान गरेका छन् । प्रधानसेनपतिले पनि जेनजीलाई वार्तामा आउन भनेका छन् ।
सामाजिक सञ्जाल खुल्ला गर्नुपर्ने जेनजीको मुख्य माग थियो । तर,सोमबार सडकमा ओर्लने क्रममा उनीहरुले भ्रष्टाचार र कुशासनविरुद्ध औंला उठाए । सत्ता दमनमा उत्रियो । बर्बर दमनको क्रममा झण्डै २ दर्जन युवाले ज्यान गुमाए । आक्रोशित युवाहरुको मंगलबार भएको देशव्यापी प्रदर्शनले चाहिँ सत्ता विप्लव गरिदियो । हठी शासक राजीनामा दिन बाध्य बने । आन्दोलनकारीले सार्वजनिक सम्पत्ति,नेताहरुको घरमा आक्रमण गरे । यो उपक्रम रोकिएको छैन ।
प्रधानमन्त्रीको राजीनामापछि आन्दोलनले सफलता प्राप्त गरिसकेको छ । अबको मार्गचित्र कस्तो हुने भन्नेबारे जेनजीसहित प्रबुद्ध वर्गले सोच्ने बेला आएको छ । तर, त्योभन्दा पहिला अहिले देखिएको अराजकताको अन्त्य हुनैपर्छ । जेनजीको नाममा भएको आन्दोलन भौतिक सम्पत्ति नष्ट गर्ने दिशामा अगाडि बढ्नु कुनै पनि कोणबाट सही हैन । त्यस्ता गतिविधि तत्काल रोकिनुपर्छ । वार्ताबाटै निकास निस्कने हो । जेनजीले सक्दो छिटो वार्तामा बस्दै नयाँ सरकार गठनलगायतका विषयलाई टुंग्याउनुपर्छ ।
के नेपालका सुरक्षा निकाय थाकेका हुन् ?
१० वर्षे सशस्त्र द्वन्द्वको समयमा हतियारसहितको विद्रोही माओवादीले जिल्ला प्रशासन कार्यालय लामो समयसम्म कब्जामा लिन सकेन । तर,जेनजी पुस्ताले गरेको आन्दोलनको दोस्रो दिन नै नेपालको सुरक्षा निकाय उनीहरुसामु निरीह देखियो । सार्वजनिक सम्पत्ति सुरक्षा त परको कुरा, नेपाल प्रहरीले आफ्नै कार्यालय पनि सम्हाल्न सकेन । आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय कास्की,वडा प्रहरी कार्यालय र जिल्ला कारागार कब्जामा लिए । सुरक्षाकर्मीकै हतियार खोसे । त्यहाँ रहेका कैदीबन्दीलाई भगाए । लुटपाट नै मच्चाए । के नेपालको सुरक्षा बल यति कमजोर बनेको हो वा उसले जेसुकै होस् भनेर आफ्नो दायित्वबाट हात झिकेको हो ? यो प्रश्न पेचिलो बनेको छ ।
सुरक्षा निकाय कमजोर देखिँदा अपराधीहरु जेलबाट भागेका छन् । जेलबाट भागेका ती अपराधीहरुले भोलिका दिनमा पुनः अपराध कर्म गर्ने सम्भावना बढी हुन्छ । यसले नागरिक समाजमा त्रास बढाएको छ । सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनीले महत्वपूर्ण अभिलेखहरु नष्ट भएका छन् । जिल्ला प्रशासन, मालपोत कार्यालय, अख्तियार, यातायात कार्यालयसहित कयौं कार्यालयमा भएका अभिलेख नष्ट हुँदा भोलि कसरी काम गर्ने ? अभिलेख नहुँदा भ्रष्टहरु चोखिने,सेवाग्राहीले दुःख पाउने परिस्थिति निर्माण हुने निश्चित भएको छ । जेनजीसहितको सरकार नै बनेपछि पनि ती सरकारी कार्यालयले सेवा प्रवाह गर्नैपर्छ । जेनजीको नाममा भएको यो अराकता र उच्छृङ्खलता क्षम्य छैन । यसको दूरगामी प्रभाव कायमै रहने छ । आन्दोलन कसरी थामिन्छ भन्ने प्रष्ट छैन । अराजकता र लुटपाटका श्रृंखला बढ्दै जाँदा निम्तने विषम परिस्थिति झन डरलाग्दो हुन्छ । सुरक्षा निकायहरुको कमजोरी जेनजी आन्दोलनको क्रममा छताछुल्ल भएको छ । सुरुमा अत्यधिक बल प्रयोगमा उत्रेको प्रहरी एकाएक किन सिथिल देखियो ? यो प्रश्नको उत्तर खोजिने नै छ । तर, त्यसभन्दा पहिला सुरक्षा निकायहरुले मंगलबारजस्तो सिथिलता देखाउन मिल्दैन । सार्वजनिक सम्पत्तिको रक्षा,नागरिकको सुरक्षा एवं अमन–चयन कायम गर्ने दायित्वबाट सुरक्षाकर्मी भाग्न हुँदैन ।
सिंगो पोखरा जेनजीको कब्जामा
जेनजीको विरोध प्रदर्शनले पोखरा दिनभर प्रभवित बन्यो । पोखराको मुख्य बजार क्षेत्रमा पनि कफ्र्यू लगाएको प्रशासन आन्दोलनकारी सामु निरीह देखियो । मध्यान्नतिर सुरक्षाकर्मीहरुले हात झिकेपछि सहर आन्दोलनकारीको नियन्त्रणमा आयो । त्यसपछि चाहिँ आन्दोलनकारीहरु अराजक बने । न्यूरोडमा रहेको पोखरा महानगरपालिका कार्यालय आगजनी गरेका उनीहरुले पोखरा ९,नुवारथोकमा रहेको मेयर धनराज आचार्यको निजी घरलाई पनि निशाना बनाए । महेन्द्रपुलमा रहेको नेपाल टेलिकमको कार्यायम आगजनी गरेसँगै आन्दोलनकारीले त्यहाँ रहेको प्रहरी बिट र महेन्द्रपुलमा रहेको प्रहरी बिट पनि जलाए ।
सुरक्षाकर्मी बजारमा नदेखिएपछि हौसिएका आन्दोलनकारीले पोखराको नयाँबजारमा रहेको सामाजिक विकासमन्त्री विन्दुकुमार थापा र उनका भाइ ध्रुव थापाको घरमा आगो झोसे । आन्दोलनकारीहरु त्यत्तिमै रोकिएनन् । प्रदर्शनकारीले पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत मुख्यमन्त्रीको निवास, एमाले गण्डकी र कास्की जिल्ला कार्यालय र सरकारी भवनमा तोडफोड र आगजनि गरेका छन् । पोखराको नदीपुरस्थित गण्डकी प्रदेश सभा सचिवालयको भवनमा तोडफोड र आगजनी गरेका छन् । जेन जीका प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका हुन् । पोखरा ११ को वडा कार्यालयदेखि विभिन्न वडा कार्यालयहरु पनि आन्दोलनकारीको आगजनि र तोडफोड गरे । अराजक बन्दै गरेको भीडले साँझतिर गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजानी र तोडफोड गरे भने जिल्ला प्रहरी कार्यालय कास्कीलाई पनि निशाना बनाए । मन्त्री विन्दुकुमार थापाको स्वामित्वमा रहेको होटलदेखि लेकसाइडमै रहेको सरोवर होटल पनि प्रदर्शकारीको निशानामा प¥यो । विरोध प्रदर्शनकै क्रममा पोखराको पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फालेर त्यहाँ पृथ्वीनारायण शाहको प्रतिमा राखियो । डोजरसहित पुगेको समूहले लखन थापाको शालिक फालेको हो ।





