पोखरा/ नेपाली कांग्रेस गण्डकीले संवैधानिक बाटोमार्फत मात्र अहिलेको समस्या समाधान गर्न सकिने जनाएको छ । उसले सम्पूर्ण पार्टी कार्यकर्ता तथा नागरिकलाई आपसी सद्भाव कायम राखी धैर्यपूर्वक रहन आग्रह पनि गरेको छ ।
कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले एक विज्ञप्ति जारी गर्दै जेन जी समूहद्वारा भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा दिवंगत भएका युवा साथी, नागरिक तथा सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण, शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै उनले आन्दोलनका क्रममा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जेन जी युवाहरूले उठाएका सुशासन कायम गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने र संवैधानिक व्यवस्थामा सुधार ल्याउने मागप्रति समर्थन जनाएको उल्लेख गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक व्यक्तित्वमाथि भएको सांघातिक आक्रमणप्रति दुःख र खेद व्यक्त पनि उनले विज्ञप्तिमार्फत गरेका छन् । आन्दोलनमा घुसपैठका कारण सरकारी तथा निजी भौतिक संरचनामा भएको क्षति र आगजनीप्रति चिन्ता प्रकट गर्दै यस्ता घटनाको न्यायिक छानबिन हुनुपर्नेमा जोड दिएका छन । ‘देशको यो विषम परिस्थितिमा सुशासन कायम गर्न र जेन जीले उठाएका जायज माग सम्बोधन गर्न संवैधानिक बाटो अवलम्बन गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गैरसंवैधानिक गतिविधितर्फ लाग्दा देशमा भयावह अवस्था सिर्जना हुनसक्छ र आन्दोलनको उपलब्धि जोगाउन सकिँदैन ।’





