पोखरा/ जिल्ला प्रहरी कार्यालय, कास्कीले भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा केही अपराधिक पृष्ठभूमिका व्यक्तिहरु घुसपैठ भई बिभिन्न सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, व्यवसायिक प्रतिष्ठानहरु लगायत व्यक्तिगत घरसम्पत्तिहरुमा आगजनी, तोडफोड, लुटपाट तथा बिध्वंसात्मक कार्यमा संलग्नको प्रमाण उपलब्ध गराइदिन जिल्लाबासीसमक्ष अनुरोध गरेको छ ।
जिल्ला प्रहरीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त विध्वंसात्मक गतिविधिसंग सम्बन्धित प्रमाणजन्य सामग्रीहरु जस्तो (सिसि टिभिका फुटेज, भिडियो फुटेज, फोटो, भ्वाइस रेकर्ड आदि) उपलब्ध गराई अनुसन्धान कार्यमा सहयोग पुराउन अपिल गरेको हो । यसका लागि इमेल ठेगना र ह्वाट्सएप नम्बर पनि प्रहरीले सार्वजनिक गरेको छ ।
साथै, सुरक्षा निकायका हातहतियार, असबाब लगायत अन्य सामग्रीहरु एवम् लुटपाट गरिएका कुनै पनि प्रकारका चिजवस्तुहरु लुकाई छिपाई राखिएको जानकारी भए त्यसबारे जानकारी दिन पनि प्रहरीले भनेको छ । सूचना उपलब्ध गराउने संघसस्था वा व्यक्तिको पूर्णतया गोपनियता कायम गरिने कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताएका छन् ।
सूचनाका लागि इमेल ठेगना dpokaski@gmail.com, dpokaski_it@nepalpolice.gov.np र ह्वाट्सएप नम्बर 9856039599, 9856035512 राखिएको छ ।





