पोखरा/सहारा क्लब पोखराले प्रदान गर्ने सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट खेल पत्रकार केशव पाठक सम्मानित भएका छन् ।
सहारा क्लब पोखराको २७ ओैं साधारण सभा तथा १४ ओै अधिवेशनको अवसरमा शुक्रबार आयोजित समारोहमा पाठकलाइ नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र द्वारा सम्मान गरिएको हो ।
क्लबले दोविल्ला स्थित सहारा एकेडेमीको प्राङगणमा कार्यक्रमको आयोजना गरेको थियो । हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले उनलाई सो पुरस्कार हस्तान्तरण गरे ।
क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पाठकलाई सो पुरस्कार दिने निर्णय गरेको थियो । यसरी सम्मानित हुने पाठक १९ ओैं पत्रकार हुन् ।
फुटबल मार्फत सामाजिक सेवामा क्रियाशील क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एक जना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ ।
पर्वतका पाठक तीन दशकदेखि पोखराको खेलकुद पत्रकारितामा क्रियाशील छन्। उनी प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष, गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष हुन् ।
क्लबले सहारा उत्कृष्ट सदस्य सम्मानबाट नेहा गुरुङलाई सम्मान गरेको छ । पोखरा–१५ निवासी गुरुङ जुनियर सदस्यका रुपमा १० वर्षअघि क्लबमा प्रवेश गरेकी थिइन् । क्लबले शुक्रबार नै नयाँ कार्यसमिति निर्वाचित हुने क्लब अध्यक्ष केशवराज बरालले बताए ।
नियमित रूपमा आहा रारा पोखरा गोल्डकप प्रतियोगिता गर्दै आएको क्लबले सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी संचालन गरेको छ । क्लबमा हाल ३० जना बालकले फुटबल सिकिरहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।





