पोखरा/दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको इन्स्योरेन्स पार्टनरमा अजोड इन्स्योरेन्स कम्पनीले साथ दिएको छ । शनिबार हुने सो प्रतियोगिताको अन्तिम तयारी हुँदै गर्दा पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको महत्व बुझेर अजोडले सहयोग गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए ।
शुक्रबार कम्पनीका गण्डकी प्रदेश प्रमुख गोपालप्रसाद पौडेल र प्रतियोगिता संयोजक बरालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त इभेन्टमा सहकार्य गर्न पाएकोमा कम्पनीका गण्डकी प्रदेश प्रमुख पौडेलले खुसी व्यक्त गरे । साथै उनले आगामी दिनमा सहकाई गर्ने जनाए ।
विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा पोखरा–२२ विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा पर्वतीय दौड हुँदैछ । प्रतियोगितामा नेपालसहित ६ देशका खेलाडीले नाम दर्ता गराएका छन् ।
प्रतियोगितामा खुला, महिला, यू–१६, विदेशी पर्यटक, भेट्रान्स र वडास्तरमा दौड हुनेछ । सबै इभेन्टका विजयीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कारको व्यवस्था छ । सोही अवसरमा विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र समाजसेवी अशोक गुरुङलाई सम्मान गर्ने कार्यक्रम छ । दौड बिहान ७ बजेदेखि सुरु हुनेछ । त्यसअघि नै धावकहरु विश्वशान्ति स्तुप पुग्नुपर्नेछ ।





