
काठमाडौं /राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १०, २०८१ पूरकको परीक्षाफल प्रकाशित गरेको छ। साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालित एसईईको नतिजा शनिबार प्रकाशित गरिएको हो। नतिजाअनुसार परीक्षामा सहभागी भएका एक लाख ४३ हजार दुई सय ५७ परीक्षार्थीमध्ये ८३ हजार पाँच सय ६४ विद्यार्थी वर्गीकृत (ग्रेडेड) भएका छन्। अवर्गीकृत परीक्षार्थीको संख्या ५९ हजार ६ सय ९३ छ।

नतिजा कसरी हेर्ने ?
यस्तो छ ग्रेडिङ व्यवस्था
लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधनसहित) को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ। जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ अंक, ५० पूर्णांकका विषयमा कम्तीमा १८ अंक र आन्तरिक ५० पूर्णांकमा कम्तीमा २० अंक, २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने हुन्छ।
नतिजा पुनर्योग कसरी ?
प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था छ। पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ। परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि बोर्डको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्नेछन्। पुनर्योगका लागि २०८२ असोज १९ गतेदेखि २९ गते बेलुका ५ (पाँच) बजेसम्मको समय निर्धारण गरिएको छ।






