बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘जेनजी आन्दोलनले विद्यार्थी शिक्षण सिकाइबाट बञ्चित भए’

‘जेनजी आन्दोलनले विद्यार्थी शिक्षण सिकाइबाट बञ्चित भए’

‘हरेक ठाउँमा हुने चरम भ्रष्टाचार कारण यो आन्दोलन भएको हो’ नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले भने ‘परिवर्तनको संवाहक शिक्षा कर्मी भएकोले हामी संयमित भएर हाम्रा पेसा व्यवसाय प्रति जिम्मेवारी भएर लाग्न म आग्रह गर्दछु ।’


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८२, आइतबार

पोखरा/नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले जेन जी आन्दोलनले विद्यालयमा समेत क्षति पुगेको बताएका छन् । उनले आन्दोलनले विध्वंस मच्याउँदा विद्यालय तथा कलेजहरु समेत जलाउँदा हजारौं विद्यार्थी शिक्षण सिकाइबाट समेत बञ्चित भएको सुनाए । नेशनल प्याब्सन कास्कीको पोखरामा आयोजित २७ औँ वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले सो कुरा बताएका हुन् ।

‘नेपाल सरकारले नै शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रको रूपमा घोषण गरेको छ, जहाँ राजनीतिक हिसाब या अरू कुनै पनि तवरले विद्यालय माथि प्रहार हुनु हुँदैन। तर यो आन्दोलनका क्रममा भएको विध्वंसले विद्यालय पनि अछुतो रहन सकेन’ अध्यक्ष न्यौपानेले भने, ‘विद्यालयको क्षतिबाट हजारौँ विद्यार्थी शिक्षण सिकाइबाट वञ्चित भएका छन् यसको हामी घोर भत्र्सना गर्दछौं ।’

शिक्षाकर्मीहरू विद्यार्थीको जीवनसँग जोडिने भएकोले निजी विद्यालयका सञ्चालक कहिल्यै पनि उत्तेजित हुन नहुने बताउँदै परिवर्तनको संवाहक शिक्षकर्मी भएकाले संयमित हुन समेत आग्रह गरे। ‘हरेक ठाउँमा हुने चरम भ्रष्टाचार कारण यो आन्दोलन भएको हो’ उनले भने ‘परिवर्तनको संवाहक शिक्षा कर्मी भएकोले हामी संयमित भएर हाम्रा पेसा व्यवसाय प्रति जिम्मेवारी भएर लाग्न म आग्रह गर्दछु ।’

५४ वर्ष पछि नयाँ शिक्षा ऐन आउने क्रममा अहिलेको परिस्थितिले फेरी अन्यौलता थपिएको उनको भनाई थियो । शिक्षा ऐन आउन लाग्दा निजी विद्यालयका केही विमति थिए । पटक पटक सरकारसँगछलफल गरि अघि बढ्दा बिस्तारै सरकार सकारात्मक हुँदा आन्दोलनले थप अन्यौलता छाएको सुनाए ।

आन्दोलनका कारण फेरी शिक्षा ऐन रोकिएको छ जसले गर्दा अन्यौलता सिर्जना भएको छ ।’ अहिलेको अन्तरिम सरकारले कुनै पनि कानुन बनाउन नसक्ने बताउँदै निर्वाचन पछि बन्न सरकारले नयाँ शिक्षा ऐन ल्याउनुमा आशावादी भएको उनको भनाई थियो ।

पोखरा महानगर पालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्ण प्रसाद भण्डारीले पोखराका शैक्षिक गुणस्तर वृद्धि गर्न निजी विद्यालयको भूमिका अतुलनीय रहेको बताए । ‘शिक्षा महाशाखाले ल्याएका हरेक कार्यक्रमलाई सफल बनाउनका लागि नेशनल प्याब्सन कास्कीको भूमिका महत्त्वपूर्ण रहेको छ’ उनले भने–‘शैक्षिक गुणस्तर सुधारका क्रममा आगामी दिनमा पनि उहाँहरूबाट सहयोगको अपेक्षा गरेका छौँ ।’

नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा कास्कीका सल्लाहकार राम बहादुर मोचीले संस्कार सहितको स्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताए । ‘हालै भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाले हामीलाई पनि अझै जिम्मेवारी बन्नु पर्ने देखाएको छ’ उनले भने‘कर्ममा धर्म मिसिएको पेसा हाम्रो भएकोले पनि अव संस्कार सहितको स्तरीय शिक्षाबाट विद्यार्थीलाई सचेत बनाउनु पर्दछ ।’

नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश खड्काले हरेक आन्दोलन र संघर्षमा निजी विद्यालयका सञ्चालक मारमा पर्ने गरेको बताउँदै शिक्षा पेसामा भएकाले हामी थप जिम्मेवार भएको अगाडि बढ्नु पर्ने उल्लेख गरे ।

कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, मन्टेश्वरी एसोसिएसन कास्कीकी अध्यक्ष भवानी अधिकारी, संगम पब्लिकेसन्सका ऋषिराम शर्मा भण्डारीले बोलेका थिए । कार्यक्रममा नेशनल प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारी, कोषाध्यक्ष राजु केसी, लेखा समिति संयोजक दीपु भारीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेशनल प्याब्सन कास्कीमै आबद्ध नयाँ विद्यालय न्यु लिटिल स्टेप इंलिस बोर्डिङ स्कुल पोखरा–१ भिमकालिपाटन बगरका संस्थापक प्रिन्सिपल सुरेन्द्रराज पाण्डे लाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।

नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक मन गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->