एकदिन दरबारको पटाङ्गिनीमा टहल्दै गरेका राजा अकबरको दिमागमा भयंकर अहंकार र घमण्ड चढेछ र मन्त्री बीरबललाई शानका साथ जूँगामा एक हातले ताउ लगाउँदै धाक लगाएछन- ए बीरबल, यो संसारमा मलाई जित्न सक्ने कोही जन्मेको छ ? छ कोही भने ल भन बीरबल ! राजाको धाक देखेर ( एकछिन सोच्दै ) बीरबलले पनि धाकै सहित भने – ‘छ सरकार ! हजुरलाई छुने मात्रै होईन हजुरको जूँगा उखेल्ने मान्छे पनि जन्मेका छन !’ अकबर झस्के र भने ‘हँ … को छ, ल देखाऊ ?’ सरकार ! मलाई केहिदिनको समय चाहिन्छ म देखाउँछु सरकार भन्दै राजालाई विन्ति गरे । राजाले समयको अनुमति दिए । बीरबल बाटो लागे ।
उता दरबारमा अकबर बीरबलको कुराले चिन्तित बने । म भन्दा शक्तिशाली को होला ! यो बीरबलले कहाँ लुकाएर राखेको होला त्यो मेरो जूँगा उखेल्ने मान्छे ! ओहो,मेरो टक्करमा पनि मान्छे रहेछन है यो संसारमा भन्दै आँफैसंग अनेक तर्कना गर्न थाले । राजा अकबरको भोक हरायो नीद हरायो चौपट भयो उनको दिनचर्या ! मनमा कुरा खेलाउँदा खेलाउँदै अकबरले तोकेको समयसीमा भित्रै बीरबल टुप्लुक्क दरबारमा देखा परे !
दर्शन सरकार ! भन्दै राजाको सामु बीरबलले एउटा सुन्दर बालकलाई काखमा लिएर चूपचाप उभिई रहे । अकबरले सोधे – खै त,तिमिले मेरो जूँगा उखेल्ने मान्छे छ लिएर आउँछु भन्थ्यौ,ल्याएनौ त ? तर बीरबल चूपचापै उभिईरहे बोलेनन् । बीरबलको काखमा रहेको बच्चाले भने राजालाई हेर्दै मुसुमुसु हाँस्दो रहेछ । त्यो बालकको सुन्दर मुहार र मुस्कान देखेर अकबर मोहित हुँदै बालकलाई बीरबलको काखबाट खोसेर लिए । बीरबल चूपै छन । राजाले बालकलाई खेलाउँदै गए ।
राजा र बालकको सामिप्यता यति बढ्यो कि बालकले गालामा पिटने,कान समाउने गर्दै जूँगा उखेल्न थाल्यो । जब घरिघरि अकबरको जूँगामा उखेल्न थाल्यो,यसैबेला बीरबल बुरुक्क उफ्रे र चिच्च्याए ! अकबरले सोधे – अघिसम्म चूपचाप तिमि अहिले किन उफ्रेको बीरबल ? बीरबलले भने – हो सरकार ! म चूप थिएँ । हजुरको जूँगा बालकले उखेले पछि बल्ल म उफ्रें । हजूरको जूँगा उखेल्ने मान्छे भनेकै यहि हो सरकार ! बीरबलको जवाफ सुनेर राजा अकबर अक्कनबक्क परे !
अहिले ऊ बेलाका जस्ता चक्रबर्ति राजा त हुँदैनन तर दुईतिहाईको अहंकार र घमण्डले भरिएका छोटे राजाहरुको जूँगाको घमण्ड पनि बीरबलको काखे बालक जस्तै ‘जेन्जी’ नामको अदृश्य बालकले उखेलेरै छाडे ! मेरा जूगा त छैनन तर यो मेरी नातिनीले पनि मेरो नाक निमोठ्छे । कान उखेल्छे । गालामा म्वाई खान्छे । गालामै हान्छे । अचम्म गर्छे । मुख्य कुरा त हिस्सि परेकी छे, छोड्नै मन लाग्दैन ! कसैका जूँगा उखेल्नु छ भने भन्नु होला !





