शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खेल पर्यटन प्रवर्द्धन गर्न ‘इन क्लाइमिङ’ गुरुयोजना

खेल पर्यटन प्रवर्द्धन गर्न ‘इन क्लाइमिङ’ गुरुयोजना


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८२, आइतबार

पोखरा/कास्कीको प्रमुख पर्यटकीय गन्तव्यभित्र माछापुच्छ्रे गाउँपालिका समेत पर्दछ । मर्दी हिमाल, धम्पुस, ल्वाङ, घलेल, कोरि, खुमै जस्ता पर्यटकीय गन्तव्यले भरिएको ठाउँ हो माछापुच्छ्रे गाउँपालिका । त्यो बाहेक पालिका खेल पर्यटनको समेत प्रचुर सम्भावना बोकेको क्षेत्र हो भने फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले एसियामै बनाउन लागेको ‘फिफा ड्रिम प्रोजेक्ट’को रोजाइमा परेको क्षेत्र समेत हो ।

पर्यटकका लागि भरपुर सम्भावना बोकेपनि माछापुच्छ्रे गाउँपालिकाले त्यसको भरपुर उपयोग गर्न भने अहिलेसम्म पाएको छैन् । माछापुच्छ्रेमा रहेको क्यानोनिङ ले पर्यटकलाई आकर्षण गरेपनि अहिले त्यो बन्द छ । कारण हो ‘अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)’ । एक्यापका पालीकाभित्रका पर्यटकीय क्षेत्रमा खोलिएका होटलहरु समेत बन्द भएका छन् ।

शनिबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गाउँपालिकाको सहयोगमा आयोजित माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रबद्र्धनमा पत्रकारको भूमिका विषय वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले एक्यापका कारण पर्यटन प्रबद्र्धनमा धेरै पछि परेको सुनाएका छन् ।

पालीकाभित्र साहसिक खेल पर्यटनको प्रचुर सम्भावना भएपनि त्यसको उपयोग गर्न नपाएको वक्ताहरुले बताएका हुन् । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले एक्यापको कारण पालीकाभित्रका अधिकांश होटल व्यवसायहरु गैर कानूनी ठहरिँदै आएको बताए । उनले संरक्षण क्षेत्र भएकाले पालिकाले व्यवसाय दर्ता गर्ने अधिकार मात्रै पाएको र जग्गा लिजमा दिने अधिकार नभएको सुनाए । पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएको साहसिक खेल क्यानोनिङ अहिले बन्द भएको सुनाउँदै एक्यापले जग्गा लिज करारनामा नगरिदिँदा समस्या आएको बताए ।

‘यहाँ क्यानोनिङ सञ्चालनमा थियो । तर, एक्यापको क्षेत्रमा भएको र सार्वजानिक जग्गा भएकाले त्यसलाई सञ्चालन गर्न पाएका छैनौं । हामी करको दायरामा आउँछौं भन्दापनि पाएनौं । सार्वजानिक जग्गाको लिज करारनामा एक्यापले दिने र पालिकाले व्यवसाय दर्ता पत्र मात्रै दिने व्यवस्था छ । एक्यापले लिजमा नदिदा पालीकाभित्र जतिपनि बनेका होटल छन् ति गैरकानुनी जस्तै भएका छन’ उनले भने, ‘एक्यापले लिज करारनामा दिने हो । पालिकाको अधिकार भनेको व्यवसाय दर्ता गरिदिने मात्रै हो जग्गाको अधिकार हामीलाई छैन । किनकि त्यो संरक्षण क्षेत्र हो । अहिले संरक्षण क्षेत्रभित्र पर्ने जतिपनि होटल व्यवसाय छन् ति सबै इल्लिगल जस्तै भएको छ । एक्यापले कानूनी प्रावधानको बाटो खुला गरिदिनु पर्छ ।’

सोही क्रममा उनले अहिले कोर्चादेखी सैदीघट्टसम्म ठाडो सिधा सिढि बाटोलाई साहसिक खेल पर्यटन प्रबद्र्धन गर्नका लागि ‘इन क्लाइमिङ’ गुरुयोजना अघि सारेको बताए । सिधा सिढिको ठाडो बाटो बनाउने र त्यहाँ मानिसमात्र हिड्ने हुँदा साहसिक खेल पर्यटन प्रबद्र्धन हुनेमा आफुहरु आशावादी रहेको र यो योजना ३२ करोडको हुने सुनाए ।

‘त्यहाँ अरु केही नहिड्ने । खच्चड वा गाईवस्तु समेत । यो लागत इस्टिमेट पनि धेरै छ यो योजना ३२ करोडको हो । अहिले ३ करोड रुपैयाँ विनियोजन गरेका छौं । त्यहाँ मानिसमात्र हिड्छन् । यसले पर्यटनसँगै खेल पर्यटनको प्रबद्र्धन हुने हामीले विश्वास लिएका छौं’ अध्यक्षले भने, ‘त्यो साहसिक खेलसँग पनि जोडिएको छ । यसलाई बहुवर्षे योजनामा अघि बढाएका छौं ।’

यस्तै माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ भेडावारिमा अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालिन अध्यक्ष कर्मा छिरिङ शेर्पाको समयमा फिफाको ड्रिम प्रोजेक्ट ‘एन्फा टेक्निकल सेन्टर स्थापना गर्ने योजना भएता नयाँ कार्यसमिति आएपछि अन्योलमा परेको बताए । उनले उक्त योजनाका लागि फिफाबाट आएको रकमलाई एन्फाले रकमान्तर गरेर अन्यत्र खर्च गरेपछि अदालत पुगेपनि मुद्धा बदर भएको सुनाए ।

‘एन्फाको कार्यसमितिको साथीहरुले यहाँको रकम अन्त रकमान्तर गरेको अवस्था छ । त्यो रकम रोकि पाउँ भनि हामीले स्टे अडर लिनका लागि मुद्धा दायर गरेका थियौं अदालतबाट त्यसलाई पनि बदर गरिदियो त्यसपछि हामी प्रधानमन्त्री कार्यालय देखि विभिन्न निकासयसम्म धायौं’ अध्यक्ष गुरुङले थपे ।

एन्फासँग बसि छलफल चल्दा गर्ने गर्ने भन्ने आशय मात्रै देखाएको उनले बताए । कहिले गर्ने के गर्ने भन्ने अहिलेको कार्यसमितिले टुंगो नलगाएको बताए । एन्फाले एकैचोटी नगरेपनि वार्षिक रुपमा बजेट छुट्याउँदै थोरै थोरै भएपनि काम गर्नुपर्नेमा उनको जोड थियो । उक्त कुरामा आफुहरुले कोसिस गर्ने बताए ।

पालिकाकी उपाध्यक्ष सीता अधिकारीले एक्यापका कारण पालिकाको आयस्रोतमा कमी भएको गुनासो पोखिन । पालिकाले पर्यटन शुल्क उठाउन सुरु गर्दा स्थानिय व्यवसायी र एक्यापको विरोधका कारण समस्या आएको सुनाइन् । ‘हामीले मर्दी हिमालमा पर्यटन सेवा शुल्क लिने भनेर एक करोड रुपैयाँ कर उठायौं । पछि एक्यापको विवाद र पर्यटन व्यवसायीको कारणले त्यो काम रोकियो । हामीले लो क्याम्पमा सूचना केन्द्र बनाउँदै छौं । त्यहाँबाट केहि राजस्व लिएर पालिकाको आन्तरिक स्रोत बढाउने सोचमा छौं’ उनले भनिन्, ‘बाह्य वा आन्तरिक पर्यटकबाट राम्रो आम्दानी हुने स्रोत छ त्यो पछि पालिकामा खासै केहि आएको छैन । त्यसमा बढि गरेर एक्यापले हामीलाई निकै समस्या बनाएको छ । कानून पनि त्यहि पुगेर अड्किन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->