मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

नेपथ्यको सन्देश ‘शिक्षाको जति उज्यालो संसारमा केही छैन्’

नेपथ्यको सन्देश ‘शिक्षाको जति उज्यालो संसारमा केही छैन्’

अमृत गुरुङले आफ्ना दर्शकहरुलाई कसैले पनि आर्थिक अभावकै कारण विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्दै सहयोग र अक्षयकोष स्थापना गरिदिन आग्रह गरे ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८२, आइतबार

पोखरा/शुक्रबार पोखरामा नेपथ्य घन्कियो । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले पोखरामा विश्वचर्चित नेपाली ब्यान्ड नेपथ्यको कन्सर्टको आयोजना ग¥यो ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा १० हजार दर्शकलाई समेटेर कन्सर्टको आयोजना गरिएको थियो । ६ बजे सुरु हुने कन्सर्ट हेर्नका लागि दिउँसो ३ बजेबाट दर्शकहरु पोखरा रंगशाला आउन सुरु गरिसकेका थिए । ४ बजेपछि पृथ्वी चोकबाट जाम सुरु हुन थालिसकेको थियो । नेपथ्यको कन्सर्ट सुरु हुँदा थामि नसक्नु भीड भइसकेको थियो । कन्सर्टको अघिल्लो दिन राती नै टिकट समेत सोल्डआउट भएको थियो तथापि टिकट रंगशाला काट्न पाइन्छ की भन्ने आशाले आउने दर्शक पनि थिए ।

कन्सर्ट सुरु भएपछि दर्शकहरु नाचे, झुमे र नेपथ्यका भोकलिष्ट पोखरेली अमृत गुरुङको तालमा ताल मिलाउँदै गीत गाउन थाले । बीचबीचमा नेपथ्यले दर्शकहरुलाई आग्रहपनि गरिरहेका थिए । अमृत गुरुङले आफ्ना दर्शकहरुलाई कसैले पनि आर्थिक अभावकै कारण विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्दै सहयोग र अक्षयकोष स्थापना गरिदिन आग्रह गरे । आफुले जीवनभर सिकेको कुरा नै शिक्षा भन्दा ठूलो संसारमा केही नभएको र यसका लागि सबैले सहयोग गर्न अत्यावश्यक रहेको सुनाए ।

‘जिन्दगी भनेको के नै रहेछ र ? शिक्षाको जति उज्यालो संसारमा अरु केहि पनि छैन् । त्यहि भएर आफ्नो मनमा लागेको कुरा गर्नुपर्दो रहेछ र मान्छेले धर्र्मकर्म गरेर धेरै पुण्य कमाउँछन् तर, म यहाँहरुलाई यो मञ्चबाट अनुरोध गर्दछु’ उनले भने, ‘आफ्नो टोल छिमेकमा नानीबाबुहरु विद्यालय जानबाट बञ्चित भएका छन् भने तिनलाई सहयोग गरेर अक्षयकोष स्थापना गरेर विद्यालय पठाउने र पुण्य कमाउने गरौं हइइइ….।’

सोही क्रममा उनले खेलकुदको विकासका लागि खेलाडी र खेल प्रेमी नै लाग्नुपर्ने भन्दै पोखरा रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा समेत जोड दिए । हिजो आफूहरु युवास्थामा त्यहाँ पुग्दा र आज पुग्दा पूर्वाधारमा ठूलो परिवर्तन देखेको गुरुङको भनाइ छ । रंगशाला बनाउने सपना देख्नेहरूलाई धन्यवाद दिदै यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए ।

यस्तै भदौ २३ र २४ गतेको आन्दोलनलाई सम्झदै कन्सर्टमा आउने जेन जी पुस्ताका दर्शकलाई अब विध्वंस गर्न कोही आएमा प्रतिकार गर्न र विध्वंस नमच्याउने प्रण गर्न आग्रह गरे । नेपाललाई कसैले विखण्डित गर्न नसक्ने भन्दै आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सबैले मतदाता परिचयपत्र बनाइ राम्रोलाई रोज्ने र नराम्रोलाई फाल्ने काममा लाग्न समेत अनुरोध गरे । उनले भ्रष्टाचार विरुद्ध सबैले आवाज उठाउनुपर्ने सुनाए ।

पोखरा एभेन्जर्सले आफ्नो प्रचार र क्रिकेट विकासका लागि भन्दै कन्सर्ट आयोजना गरेको हो । उक्त कन्सर्टमा विक्रि भएको प्रत्येक टिकटबाट तीन सय रुपैयाँ खेलकुदको विकासमा खर्च गरिनेछ । तीन सय मध्ये एक सय रुपैयाँ सार्वजानिक विद्यालयको खेलकुदमा खर्चिने छ । जसमा नेपालयले समेत थप गरेर कास्कीका सार्वजानिक विद्यालयहरुमा खेल सामग्री र आर्थिक अभाव भएकाहरुको पढाइमा खर्च गरिनेछ ।

टिकट भनेर छुट्टै नराखिएपछि आयोजकले विभिन्न क्याटेगोरी जर्सीलाई प्रवेश पासका रूपमा विक्री गरेको थियो । सुरुका १ हजार दर्शकलाई ९ सय ९९ मा राखिएको जर्सी त्यसपछि १ हजार ४ सय ९९ रुपैयाँमा दिइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->