बागलुङ/साविकको धौलागिरि अञ्चलको पहिलो बिद्युतिय संचार माध्यम धौलागिरि एफएम ९८ दशमलव ६ मेगाहर्ज २१ बर्ष पुरा गरि २२ औ बर्षमा प्रवेश गरेको छ । स्थानिय उद्योगी व्यवसायीको सक्रियतामा २०६१ साल कार्तिक २७ गते स्थापना भएको धौलागिरिको गौरव, धौलागिरिको आवाज धौलागिरि एफएम बिभिन्न आरोह अवरोध पार गर्दै २२ बर्षमा प्रवेश गरेको हो ।
एफएमले २१ औ बार्षिकोत्सव बिभिन्न त्रिदिवसीय कार्यक्रमका साथ मनाएको छ । पहिलो दिन कार्तिक २५ गते मानव सेवा आश्रमलाई सहयोग, २६ गते रेडियोः बिगत, बर्तमान र भविश्य बिषयक अन्तरसम्वाद कार्यक्रम तथा अन्तिम दिन कार्तिक २७ गते सम्मान सहित मुल समारोह गरि मनाएको हो ।
मुल समारोह तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका कार्यवहाक अध्यक्ष तेजबहादुर थापा तिलकले रेडियो दुरदराजका नागरिकको आवाज भएकाले संरक्षण गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । प्रविधिको विकाससँगै रेडियोमा थपिएको चुनौती सामना गर्न र यसलाई बचाई राख्नका लागि समय अनुसार परिस्कृत हुन जरुरी रहेकोमा उनको जोड थियो ।
कार्यक्रममा प्रेस रजिष्टारको कार्यालय गण्डकी प्रदेशका प्रेस रजिष्टार बिमला भण्डारी, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा अविरल, गैरसरकारी संस्था महासंघका सचिव शालिकग्राम शर्माले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रम धौलागिरि एफएमका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माको स्वागत र सम्पादक ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । बार्षिकोत्सवको दिन एफएमका प्रस्तोताहरुको बिज्ञापनदाता, स्रोता लगायतसंग शुभकामना आदानप्रदान गरेका थिए ।
सहसम्पादक कँडेलसहित ३ जना सम्मानित
धौलागिरि एफएमको २१ औ बार्षिकोत्सवको अवसरमा एफएमका सहसम्पादक कोपिला कडेल सहित ३ जना सम्मानित भएका छन् । साविक धौलागिरिको पहिलो बिद्युतिय सञ्चार माध्यम धौलागिरि एफएम २१ बर्ष पुरा गरि २२ बर्ष प्रवेशको अवसरमा आयोजित २१ औ बार्षिकोत्सव मुल समारोह तथा सम्मान कार्यक्रममा तीन जनालाई सम्मान गरिएको हो ।
एफएमको समाचार सहसम्पादकको रुपमा रहि योगदान पु¥याउँदै आएकी काँठेखोला गाउँपालिका वडा नम्वर ६ बिहुँ निवासी कोेपिला कँडेल, समाचार बाचक जैमिनी नगरपालिकाको अर्जेवा निवासी कृष्ण समिरलाई सम्मान गरिएको थियो ।
यसैगरि एफएमको नाट्य श्रृखला बिम्व दर्पणका पात्र बागलुङ नगरपालिका वडा नम्वर ९ निवासी नारायण पौडेललाई पनि सम्मान गरिएको थियो । नारायण पौडेलले बिम्व दर्पण नाटकको रिठे पात्रको रुपमा अभिनय गर्दै आएका छन् ।
सम्मानित तिनै जनालाई एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतम, कार्यक्रमका प्रमुख अतिथि काँठेखोला गाउँपालिकाका कार्यवहाक अध्यक्ष तेजबहादुर थापा तिलक र प्रेस रजिष्टार बिमला भण्डारीले कदरपत्र, दोसल्लाले सम्मान गरेका थिए ।





