बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा सातौं दिनसम्म झण्डै ९ करोड संकलन भएको छ । महायज्ञको सातौं दिन शुक्रबार मात्रै १ करोड ३४ लाख ८० हजार संकलन भएसंगै अहिलेसम्म ८ करोड ९६ लाख ९५ हजार संकलन भएको हो ।
मानवसेवा आश्रम बागलुङमा १० करोड रुपियाँको अक्षयकोष बनाउने लक्ष्य छ । महायज्ञमा उत्साहपुर्ण सहभागिता भएपछि शनिबारसम्म समय बढाइएको छ । लक्ष्य अनुसारको रकम संकलन हुनेमा आयोजक ढुक्क छन् । मानवीय सेवाका लागि आयोजित महायज्ञलाई सफल बनाउने र उद्देश्य अनुसार पुर्वाधार निर्माण गर्ने लक्ष्यमा नागरिकले साथ दिएको महायज्ञ आयोजक समितिकी कोषाध्यक्ष लक्ष्मी बास्कोटाले जानकारी दिइन् ।
आश्रमले सडकमा अलपत्र परेका नागरिकहरुलाई सहयोग गर्दै आश्रममा ल्याएर खानेबस्ने व्यवस्थापन गराउँदै आएको छ । यो अभियानपछि आश्रमलाई २ सय जना मानिस राख्न मिल्ने र संचालन गर्न सकिने बनाउने योजना छ । त्यसका लागि बागलुङ नगरपालिका वडा नं. ४ को निरयघाटमा आश्रम भवन निर्माणाधिन छ । यो भवन बनिसकेपछि हाल बागलुङ नगरपालिका वडा नं. ३ मा रहेको आश्रम निरयघाटमा सर्ने तयारी छ ।
महायज्ञमा संस्थागत र व्यक्तिगत रुपमा सहयोगीहरु बढीरहेका छन् । विभिन्न आमा समूह, संघसंस्था र व्यक्तिगत रुपमा सहयोग गर्नेहरु पनि महायज्ञमा सहभागि भएका छन् । महायज्ञमा बागलुङसंगै छिमेकी पर्वत र म्याग्दीका स्थानीय तहले खुलेर दान गरेको मानव सेवा आश्रमका अभिभावक निर्मल कुमार श्रेष्ठले जानकारी दिए।
महायज्ञमा दाताको ओइरो लागेपछि आयोजक उत्साहित छन् । आश्रमप्रति भक्तजनले देखाएको विश्वासका कारण सहयोग गर्ने क्रम बढ्दै गएको छ । आश्रम निर्माणका लागि आयोजित महायज्ञमा भागवत भास्कर कमलनयन गौतमले कथा बाचन गरेका छन् । हरेक दिन बिहान योग शिविर र विद्यार्थीका लागि ज्ञानविज्ञानको शिविर समेत संचालन हुनुका साथै बेलुकी भजनकृतन र दिउँसोमा कथा प्रवचन भैरहेको छ ।
महायज्ञमार्फत आश्रमले विभिन्न स्थानका सेवा केन्द्र पनि निर्माणको काम थालेको केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । १३ वर्षअघि हेटौडाबाट शुरु भएको आश्रम निर्माणले सडकमा अलपत्र परेका नागरिकलाई नाना, छाना र खानाको व्यवस्थापन गर्दै आएको छ । आगामी दिनमा उनीहरुको शिक्षा, स्वास्थ्य र मनोरञ्जनको क्षेत्रमा पनि काम गर्ने योजना बनेको अध्यक्ष अधिकारीले जानकारी दिए ।





