बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकाको खार बजारमा हुँदै आएको न्वागी मेला यसवर्ष मंसिर १ गतेदेखि हुँदैछ । ६० को दशकदेखि न्वागी मेलाको आयोजना गर्दै आएको पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले पत्रकार सम्मेलन गरेर मेलाबारे जानकारी दिएको हो ।
पौंदीबासीको विशेष पर्वको रुपमा लिईने न्वागी मेलामा यसवर्ष पनि खुल्ला पुरुष भलिवल प्रतियोगितालाई मुख्य आर्कषणका रुपमा राखिएको छ । प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ११ हजार १ सय पुरस्कार प्राप्त गर्ने भलिवल खेल संयोजक काजिमान गौचनले बताए ।
यस्तै, प्रतियोगितामा तृतिय र सान्त्वना हुनेलाई क्रमशः ५१ हजार १ सय र २५ हजार १ सय रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने गौचनले जानकारी दिए ।
मेलाकै अवसरमा संस्कृति संरक्षणको लागि लोकभजन, सोरठी भैलो, सराय नाचसंगै विभिन्न अन्य प्रतियोगिता समेत राखिएको समितिका सचिव विष्णुप्रसाद आचार्यले बताए ।
बृहत कृषि प्रर्दशनी र ख्याती प्राप्त राष्ट्रिय कलाकारको समेत प्रस्तुती रहने मेला अबधीभर रमाईलो मेलाको साथमा बाल उद्यान पनि रहने साँस्कृतिक कार्यक्रम संयोजक नविन कुवँरले जानकारी दिए । मेलाको झण्डै १० हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला सम्पन्न गर्न २० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।





