तस्बिर : डम्बर बुढा मगर
बागलुङ/मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने नेकपा एमालेको महाधिवेशन सफल बनाउने लक्ष्यका साथ थालिएको अभियानअन्तर्गत शनिबार बागलुङमा जागरणसभा सम्पन्न भएको छ ।
सभाका सहभागिले विघटित संसद पुनस्थापनामार्फत जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने बताए । उनीहरुले महाधिवेसनमार्फत पार्टीका कमिकमजोरी सच्याएर जाने प्रतिवद्दता पनि जनाएका छन् । शनिबार जनप्रर्दशन र जागरण अभियान स्वरुप एमाले नेता कार्यकर्ताले ¥याली प्रद्र्दशन समेत गरेका थिए ।
¥यालीपछि आयोजित कोणसभामा एमाले पोलिट्व्युरो सदस्य मनकुमारी केसीले राजनीतिक दलको विकल्प नभएको बताइन् । उनले दलमा एकदुइ जना खराब भएपनि सिंगो पार्टी खराब नहुने र लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक दलहरु एक नभएसम्म निर्वाचन संभव नहुने भन्दै संसद पुनस्थापनाबाट धेरै समस्या समाधान गर्न सकिने बताइन् ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु गोबिन्द नेपाली, इन्द्रलाल सापकोटा, सूर्य पाठक र जिल्ला सदस्य शेखर खड्काले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, उपसचिव धनबहादुर परियारको संचालनमा सम्पन्न कार्यक्रमले पार्टीको महाधिवेशनमा सक्रिय रुपमा जाने वातावरण बनेको सहभागिले बताए ।
एमालेले हालको परिस्थितिमा आम नागरिक माझ दलको आवस्यकताबारे सन्देश लैजान पनि यो कार्यक्रम गरेको नेताहरुले बताए । गत भदौमा भएको जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने एमालेको मत छ । भदौ २३ को घटनाका दोषी र २४ गतेको राष्ट्रिय सम्पत्ति नष्ट गर्ने दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने एमालेले माग गरेको छ ।
एमालेले बागलुङ क्षेत्र नं. १ र २ का लागि मंसिर १३ गते प्रतिनिधि छनौटको निर्वाचन गर्ने, १५ गतेभित्र केन्द्रमा नामाबली पठाउने योजना बनाएको छ । त्यस बाहेक महाधिवेशन लक्षित गरी आउने सुझाव संकलन गरेर सोही आधारमा आधिकारिक धारणा बनाएर जाने लक्ष्य राखेको छ । यसअघिनै एमाले बागलुङले संवैधानिक व्यवस्थाको पुनस्थापनाका लागि महाधिवेशन सहितका गतिविधि अगाडि बढाउने निर्णय गरिसकेको थियो । सो विषयमा पनि जिल्लाका नेतृत्वले समेत राज्यको ध्यानाकर्षण गराएका छन् ।





