बागलुङ/अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा ९ करोड ७० लाख संकलन भएको छ । महायज्ञको अन्तिम दिन शनिबार ७५ लाख संकलन भएको हो । महायज्ञको छैठौं दिन बिहिबार सबैभन्दा धेरै १ करोड ६५ लाख संकलन भएको थियो ।
मानवसेवा आश्रम बागलुङमा १० करोड रुपियाँको अक्षयकोष बनाउने लक्ष्य छ । महायज्ञमा आश्रमको लागि दाताहरुको उत्साहपुर्ण सहभागिता थियो । मानवीय सेवाका लागि आयोजित महायज्ञलाई सफल बनाउन र उद्देश्य अनुसार पुर्वाधार निर्माणमा नागरिकले साथ दिएको महायज्ञ आयोजक समितिकी कोषाध्यक्ष लक्ष्मी बास्कोटाले जानकारी दिइन् ।
आश्रमले सडकमा अलपत्र परेका नागरिकहरुलाई सहयोग गर्दै आश्रममा ल्याएर खानेबस्ने व्यवस्थापन गराउँदै आएको छ । यो अभियानपछि आश्रमलाई २ सय जना मानिस राख्न मिल्ने र संचालन गर्न सकिने बनाउने योजना छ । त्यसका लागि बागलुङ नगरपालिका वडा नं. ४ को निरयघाटमा आश्रम भवन निर्माणाधिन छ । यो भवन बनिसकेपछि हाल बागलुङ नगरपालिका वडा नं. ३ मा रहेको आश्रम निरयघाटमा सर्ने तयारी छ ।
महायज्ञमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग गरिएको छ । विभिन्न आमा समूहहरु, संघसंस्था र व्यक्तिगत रुपमा सहयोग गर्नेहरु महायज्ञमा सहभागि थिए । महायज्ञमा बागलुङसंगै छिमेकी पर्वत र म्याग्दी जिल्लाका स्थानीय तहले खुलेर दान गरेको मानव सेवा आश्रमका अभिभावक निर्मल कुमार श्रेष्ठले जानकारी दिए । ‘‘आश्रमप्रति भक्तजनले देखाएको विश्वासका कारण लक्ष्य नजिक पुगेका छौं’’ श्रेष्ठले भने ।





