बागलुङ/भारतमा बस्दा बिवाह गरेर दुई छोरा जन्माएपछि यहाँका एक युवाले नेपाल फर्केर अर्को विवाह गरेपछि जेठी पत्नि अलपत्र परेकी छिन् । उनका दुइ सन्तानको जन्मदर्ता समेत भएको छैन ।
काठेखोला गाउँपालिका वडा नं. ८ लेखानीका रामप्रसाद कँडेलले भारतको हिमाञ्चलमा बस्दा विवाह गरेकी नेपालगञ्जकी युवती अलपत्र परेकी हुन् । उनले जन्माएका दुइ छोराको अहिलेसम्म जन्मदर्ता समेत नभएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ की बिर्मा बिकले कँडेलसँग १६ वर्षअघि भारतमा विवाह गरेकी थिइन् । उनका १५ वर्षका अनन्त र १२ वर्षका आयुष गरी दुइ छोरा छन् । अहिलेसम्म बिर्माको नागरिकता छैन । विवाह दर्ता पनि भएको छैन ।
भारतकै अस्पतालमा जन्मेका ती बालकको जन्म प्रमाणपत्रमा बाबु रामप्रसाद कँडेलको नाम उल्लेख छ । नेपाल आउने जाने क्रममा कँडेलले भने दोश्रो विवाह गरी विवाह दर्ता समेत गरेको खुलेको छ । उनको पहिलो पत्नि रहेको, छोराछोरी भएको भने अभिभावक र गाउँमा जानकारी नभएको स्थानीयले बताए । अघिल्लो वर्षसम्म नियमित सम्पर्कमा रहेर विभिन्न बहानामा गाउँमा नल्याइ पत्नि बिर्मालाई कँडेलले नेपालगञ्जमै राख्ने गरेका थिए । बेलाबेला पैसा पनि पठाएको, गाउँमा दुःख हुन्छ भन्दै तराइमा राखेको समेत खुलेको छ ।
यसै क्रममा गतवर्ष छोराहरुको जन्मदर्ताका लागि आउँदा कँडेल भेट नभएको र परिवारका सदस्यले बस्न नदिएपछि बिर्मा फर्केकी थिइन् । गाउँमा भेला भएका छिमेकीले ५ लाख रुपैयाँ दिन्छौं, फर्केर जाउ भन्दै पठाउन खोजेको बिर्माले बताइन् । उनले आफ्नो अवस्था जे जस्तो भएपनि छोराहरुको जन्मदर्ता गराउनुपर्ने माग गर्दा परिवारका सदस्यले उल्टै गालीबेइज्जती मुद्दा दिएर प्रहरीमा लगेको बिर्माले गुनासो गरिन् ।
नेपाल पत्रकार महासंघमा गुनासो लिएर आइपुगेकी बिर्माले न्याय खोजेको बताइन् । उनको न्यायका लागि राष्ट्रिय दलीत महिला सञ्जालकी कोषाध्यक्ष सरस्वती रामदामले पनि पहल गरेको बताइन् । ‘बालबालिकाको न्यायका लागि हामी हिंडेका छौं, तर गाउँमा आइपुग्दा आफ्नै परिवारका सदस्यलाई बस्न दिएनन्’ उनले भनिन्, ‘केही दिन बसेपछि उनीहरु संचार माध्यमबाट घटनाबारे जानकारी दिन आइपुगेका हुन् ।’
बिर्माकी काकी सन्तोषी पनि लेखानी पुगेकी थिइन् । हाल कँडेल विदेश गएको भन्दै परिवारका सदस्यले भने जेठी पत्निबारे जानकारी नभएकोले अपरिचित व्यक्तिलाई बस्न दिन नसकेको बताउँदै आएका छन् ।





