बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राष्ट्रिय झण्डाको अपमान गर्नेहरु कस्ता नेपाली ?

राष्ट्रिय झण्डाको अपमान गर्नेहरु कस्ता नेपाली ?


  • काशीराम पौडेल
  • मंसिर ५ २०८२, शुक्रबार

राजनीतिक परिवर्तनले नागरिकका समस्या निवारण गर्दै देश विकासको अभिलाषा नराख्ने सायदै कोही होला । हरेक नेता कार्यकर्ता, युवा अभियान्ताले आफ्नो भाषण र बोलीमा देश निर्माण र राष्ट्रिय हितका अभिव्यक्ति दिए पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय पहिचान जोगाउन र राष्ट्र समृद्धिको मार्ग समात्न सकेको देखिदैन । युवा, प्रौढ सबै विदेशीको स्वार्थको प्रयोगशाला बन्ने र सत्ताप्राप्तिको निम्ति देशकै अस्मिता धुमिल पार्ने क्रियाकलाप दशकौंदेखि चल्दै आएको छ । यहीँ परिस्थितिले गर्दा राष्ट्र र नागरिकले दुर्गति भोग्दै आएको यथार्थ विदितै छ । सत्ता स्वार्थको पछिल्लो उदाहरण भर्खरै घटेको जेनजी आन्दोलनको पृष्ठभुमिमा र मधेश प्रदेशमा सपथ ग्रहणको भाँडभैलोमा नेपालको राष्ट्रिय झण्डाको दुव्र्यवहार, अपमान देख्दा लाग्छ पार्टीका नेता कार्यकर्ता र विदेशी एनजिओ, आइएनजिओद्वारा परिचालन भएको मनुष्यलाई कदापि जन्मभूमि र राष्ट्रको पहिचानप्रति स्नेह नहुने रहेछ ।

अमेरिकी युथ काउन्सिल, युरोपेली युनियनलगायत विभिन्न राजदूतावासद्वारा प्रशिक्षित हर–कोही कदापी जन्मभूमिप्रति जवाफदेही नहुने रहेछन् । चाहे जेनजी नामका झुण्ड भन्नुहोस् वा विभिन्न किसिमका अधिकारवादी, अभियान्ता वा राजनीतिज्ञ नै भन्नुहोस् । उनीहरुको व्यवहार, अभिव्यक्ति देख्दा आम नेपालीको रगत तात्नु स्वभाविक हो । राष्ट्रिय झण्डा ओडेर राष्ट्रिय संरचनामा आगो लगाउने, बाटोमा झण्डा कुल्चिएर तोडफोडमा उत्रनेहरु,सत्ता गुमेको झोकमा झण्डा च्यात्ने अथवा जलाएर भ्याटिकन मिसनलाई टेवा पु¥याउने व्यक्ति देख्दा लाग्छ युवा र शिक्षित भनिदैमा तिनका मगजमा चेतना हुन्छ भन्नु किमार्थ मिथ्या रहेछ । अझै भन्नुपर्दा प्रधानन्यायाधीश बनिसकेको व्यक्तिलेसमेत झण्डाको बर्को ओढ्ने र जेनजी आन्दोलनलाई निर्देशित गर्ने कार्य देख्दा आफैले आफैलाई धिक्कार्नु बाहेक अर्को विकल्प रहेन ।

सार्वभौमसत्ता राष्ट्र नेपालको पहिचान, प्रतीक, झण्डा, गान, चिन्ह प्रतिकात्मक स्वरुप मात्र किमार्थ होइन । ती नेपाली जनताको गौरव, इतिहास, सभ्यता, स्थायित्व र साझा दृष्टान्त, पुर्खाको विरासत बोकेको गौरवपुर्ण राष्ट्रिय पहिचानका आधार हुन् । राष्ट्रिय झण्डालाई केवल कपडाको टुक्रा सोच्नु अन्यथा हुन्छ । यो राष्ट्रको पहिचान र गौरवपुर्ण इतिहासको साक्षी हो । तर ! आज नेपालको गौरवपूर्ण प्रतिकमाथि दलका नेता कार्यकर्ता, शिक्षित वर्ग र युवा भनिनेहरुबाट राष्ट्रिय पहिचानमाथि भैरहेको अवहेलना र दुरुपयोगले हामी आम नेपालीको आत्मसम्मानमा ठेस पुगेको आभास भएको छ । कतै यस्तै विवेकशून्य हर्कतले किराँतकालदेखि सत्यमेव जयते अर्थात् सत्यको सधैं जित हुन्छ भन्ने उक्ति बोकेको राष्ट्रको पहिचान नै धुमिल हुने त हैन ? भन्ने चिन्ताले मेरो हृदय र माथिङ्गलमा ज्वारभाटा उठ्दै आएको छ । सायद ! म जस्तो हरेक नेपालीलाई बेचैनी बढेको हुनुपर्छ ।

सामान्यतया धार्मिक–महाकाव्य ग्रन्थहरूमा ध्वजपतका (झण्डा)को प्रयोग योद्धा, राजवंश वा धर्मयुद्धको प्रतिकको रूपमा पाइन्छ । यसरी हेर्दा झण्डा केवल प्रतिकात्मक, युद्धको सांकेतिक चिन्ह मात्र नभएर धार्मिक–सांस्कृतिक पहिचानको सत्तारूप पनि हो ।

आधुनिक राष्ट्र निर्माण प्रक्रियालाई केलाउँदा झण्डाको अवधारणा सन् १२१९ मा डेनमार्कबाट विकसित भएको भनिएपनि पूर्वोत्तर,दक्षिण एशियाली राज्यहरूले प्राचीनकालदेखि त्रिकोणत्मक ध्वजापतका आदि राष्ट्रिय वा राजकीय प्रतीकको रुपमा प्रयोग गरेका थिए । तसर्थ, नेपालको त्रिकोणात्मक ध्वजाको प्रयोग प्राचीन गोपाल बंश, महिषपाल (अभिर बंश) हुँदै आएको भएपनि किराँतकाल (करिब इ.पू. ८५०–इ.सं. ३८०) अलिक परिस्कृत रुपमा प्रयोगमा आएको थियो भन्दा अत्युक्ति हुदैन । लिच्छवी, मल्लकाल हुँदै आजसम्म त्रिकोणात्मक झण्डाको प्रयोग निरन्तर चलिरहेको छ । यद्यपि आधुनिक झण्डाको चित्राङ्कन, मानकीकरण वि.स.२०१९ सालमा किराँतकालिन ध्वजाको अवधारणामा शंकरनाथ रिमालले ज्यामितिय गणितको सहारा लिएर गर्नुभएको थियो । यसले नेपालको राष्ट्रिय झण्डा प्राचीनकाल देखिनै सांस्कृतिक, सामाजिक, अवधारणालाई अवलम्बन गर्दै राजनीतिक अर्थ पहिल्याउँदै आएको देखिन्छ ।

आधुनिक नेपालको राष्ट्रिय झण्डा अनौठो र विश्वमै फरक त्रिकोणीय भाग मिलेर बनेको र विश्वकै इतिहासमा प्राचिन रहेको छ । रातो पृष्ठभूमिमा चन्द्र, सुर्य अंकित निलो किनाराले मूर्तरुपमा सजिएको छ । जस्ले सुर्यको ताप र चन्द्रको शितलता जस्तै नेपालीको वीरता, गगन जस्तै शान्ति तथा हिमालदेखि तराईको एकता र भुमिलाई दर्शाउँछ । यस्को अर्थ जबसम्म निलो आकाशमा चन्द्रसुर्य रहिरहन्छ तबसम्म नेपाली राष्ट्रिय एकतायुक्त सार्वभौम भूगोल रहिरहनेछ भन्ने हुन्छ । तर, आज पढेलेखेका शिक्षित भनिनेहरुबाट नै नेपाली राष्ट्रिय झण्डाको अपमान र दुरुपयोग तीव्र रूपमा हुँदा हाम्रो ऐतिहासिक झण्डाको अस्तित्व नै गुम्ने त हैन भन्ने खतरा पनि उत्तिकै देखिन्छ । कुनै विश्वविद्यालय पढेर प्रमाणपत्र हातमा लिँदा वा कानुनका ठेली समात्दैमा उसको मगजमा राष्ट्र प्रतिको असल चेतना आउँछ भन्ने कथन मिथ्या प्रमाणित भएको छ ।

दलगत आन्दोलनमा राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने, सडक किनारातिर मिल्काएर त्यसमै कुल्ची हिंड्ने युवा अथवा वैदेशिक रोजगारीमा जाँदा विमानस्थल बाहिर झण्डाको बर्को बनाएर ओढ्ने र भित्र पुगेपछि दुव्र्यवहार, अपमान गर्ने युवा साथै उच्च ओहोदामा रहेका व्यक्ति र राष्ट्रिय कलाकार भनिने कतिपयको व्यवहारले पुर्खाको योगदान विरासत र बोकेको नेपालको प्राचिन ऐतिहासिक पहिचानलाई नै तिलाञ्जली दिए जस्तै लाग्छ । नेपाली नागरिकता, राहदानी बोक्दैमा अथवा नेपाली बोल्न जान्दैमा आत्मिय हिसाबले नेपाली नै हुन्छ भन्न नसकिने अवस्थाको सृजना भएको छ । राष्ट्रिय गौरव, विरासतको मर्म बुझ्न नसक्ने मातृभुमिको ऐतिहासिक महत्वलाई नबुझ्नेहरु न त नेपाली बन्न सक्छन् न तिनलाई नेपालको माया नै हुन्छ भन्दा किमार्थ भुल हुने छैन ।

इतिहासमा कहिल्यै नझुकेको, विदेशी शक्तिको अधीनमा नपरेको झण्डा आज स्वघोषित देशभक्त बनेका युवा वर्ग र कलाकार, अभियान्ताको अर्धचेत र स्वार्थको कारण झुकेको छ । अंग्रेज साम्राज्यले भारतदेखि बर्मासम्म फैलिँदा पनि पुर्खाको वीरताले नेपाली झण्डा उच्च राख्न सफल भएका थिए । सन १८१४–१६ को अंग्रेज–गोर्खा युद्धपछि भएको सुगौली सन्धिले नेपालको सिमालाई बद्लेर छोट्याए पनि नेपाली झण्डाको आकारलाई छोट्याउन बदल्न दिएनन् । हाम्रो पुर्खाले विश्वयुद्धमा विदेशी भूमिमा लडे पनि आफ्ना शिविरमा नेपालको झण्डा उच्च सम्मानको साथमा अनिवार्य रूपमा फहराउँदै आएको तथ्य पाइन्छ । तर विडम्बना भन्नुपर्छ अचेल शिक्षित भनिने नेपालीहरु परदेश जाँदा देशकै विमानस्थलमा झण्डाको अपमान, दुव्र्यवहार गर्दै परदेश हानिन्छन् । उच्च ओहोदामा बसेकाले समेत पुरै देशको अस्तित्व सकिएको जस्तै झुक्याएर बर्को ओढ्छन् ।

राष्ट्रिय झण्डालाई कसैको स्वार्थमा प्रयोग भएर सडक किनारमा मिल्काउने, मान्द्रो बनाएर बिछ्याउने वा बर्को बनाएर ओढ्ने कपडाको टुक्रा कदापि बनाइनु हुँदैन । किनकी झण्डा नेपालका अनेकौं जाति–समुदायसंगै हिमालदेखि तराइसम्मको भूगोलको प्रतीकात्मक पहिचान हो । जुन, हजारौ वर्षे देखिन चली आएको नेपाली सभ्यताको सङ्कलन हो । त्यसैले श्रद्धापुर्वक हाम्रो पहिचान, मातृभूमिप्रति सम्मान व्यक्त गरौं । यदि कोही कसैले व्यक्तिगत स्वार्थ वा दलगत प्रायोजनका निम्ति दुरुपयोग र अपमान गर्छ भने राज्यद्वारा त्यस्ता व्यक्तिलाई जघन्य अपराध करार गरि सजाय दिनुको विकल्प छैन । विश्वको इतिहासलाई केलाउँदा राष्ट्र पतन हुने संकेत युद्ध हार्नु मात्र होइन । नागरिकले आफ्नो राष्ट्रिय झण्डाको सम्मान गर्न छोड्नु, दुरुपयोग गर्नु पनि पतनको बाटोमा जानु हो ।

त्यसैले राज्यले पाठ्यक्रममा राखेर हुन्छ कि दण्ड सजायको कानुन पारित गरेर हुन्छ नागरिकलाई राष्ट्रिय झण्डाको सम्मान, इज्जत गर्ने वातावरण बनाउनुपर्छ नत्र भने भोलिको सन्ततिले व्यक्तिगत स्वार्थ वा वैरीको उक्साहटमा राष्ट्र र राष्ट्रिय पहिचानलाई सदाको निम्ति अन्त्य गर्न तम्सिनेछन् । झण्डा ओढ्नु,झुकाउनु भनेको पुर्खाको बलिदान झुकाउनु हो । जनतालाई राष्ट्रिय पहिचान, ऐतिहासिक महत्व, पुर्खाको वीरता, गौरवपूर्ण इतिहास, नेपालका बिभूती, सांस्कृतिक पहिचान सिकाएनौं भने भोलिको नेपालको अवस्था के होला ? सार्वभौमसत्ता देशको अस्तित्वलाई कस्ले जोगाउला ? जय मातृभुमि ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->