पोखरा/ चुरोटको बट्टामा लुकाइ राखेको अवस्थामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा–८ बस्ने २८ वर्षीय जाबिद हुसेन र झापाको अर्जुनधारा गाउँपालिका–११ फुलबारी स्थायी घर भई हाल पोखरा–८ बस्ने २६ वर्षीया अनु श्रेष्ठ रहेका छन् ।
कस्की प्रहरीका अनुसार यही मंसिर ३ गते बेलुकी ८ बजेको समयमा पोखराको बगालेटोलमा लागू औषध सेवन तथा बिक्री बितरण भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको प्रहरी टोलिले खानतलासी गर्दा ब्राउन सुगर भेटिएको थियो ।
५ वटा स–सानो पुरियामा रहेको ब्राउन सुगरको तौल ७ ग्राम ८ मिलिग्राम रहेको कास्की प्रहरीका डिएसपी हरिबहादुर बस्नेतले बताए । पक्राउ परेकालाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।





