पोखरा/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा तोडफोड, आगजनी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापतिसहित ४ जना पुर्पक्षका लागि थुनामा गएका छन् । एक जना धरौटीमा रिहा भएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सोमबार आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दामा ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते पोखराका मेयर धनराज आचार्यको निजी घर, सरकारी गाडीमा आगजनी तथा तोडफोड र लुटपाट भएको थियो । मेयर आचार्यले चोरी, तोडफोड र आगजनी गर्नेविरुद्ध फोटो, भिडियोसहित किटानी जाहेरी दिएका थिए । जसमध्ये प्रहरीले ५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
पुर्पक्षका लागि थुनामा जानेहरूमा राष्ट्रि«य स्वतन्त्र पार्टीका पोखरा महानगरपालिका वडा नम्बर १० का सभापति चन्द्रबहादुर थापा छन् । आगजनीमा उनी संलग्न रहेको भिडियो सार्वजनिक भएपछि रास्वपाले पक्राउ पर्नुअघि नै उनलाई निलम्बन गरेको थियो ।
पुर्पक्षका लागि थुनामा पठाइएकामा ९ मंसिरमा पक्राउ परेका एक जना नाबालक पनि छन् । पोखरा १७ बाट पक्राउ परेकी बिना मल्ल भनिने बिमला सापकोटा, पोखरा ९ बाट पक्राउ परेका बुद्ध खवास ठकुरी भन्ने चीनबहादुर खवास पुर्पक्षका लागि थुनामा गएका हुन्। हरिबहादुर थापा भने २ लाख धरौटीमा रिहा भएका हुन् । उनी रास्वपा वडा सभापति चन्द्रबहादुरका भाइ हुन ।





