तस्वीर सौजन्य : प्रकाशचन्द्र साप
पोखरा/पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भीड लागेको छ । नेसनल प्याब्सन, कास्कीको आयोजनाबाट बुधबारदेखि सुरु भएकोदोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागिविद्यार्थी तथा अभिभावहरुको भीड लागेको हो ।
बाल प्रतिभा पहिचानअन्तर्गत प्रर्दशनी केन्द्रमा सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ ।

महोत्सवमा आएका विद्यार्थी तथा अभिभावकहरुले विद्यार्थीका प्रतिभा देखेर खुलेरै प्रशंशा गरेका थिए । महोत्सवमा कतै लोक नृत्य, कतै गायन, कतै कविता वाचन विज्ञान तथा प्रविधि त कतै अभिनयले रौनकता छाएको थियो। यो अलवा महोत्सवमा आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप सिकाउने अभियान सञ्चाल गरेको एन प्याब्सनको खुलेरै प्रशंशा गरेका थिए । जहाँ विद्यार्थीहरुको लागि महोत्सव सिकाइको थलो बनेको छ ।
प्रदर्शनी केन्द्रमा तान लगाएर गुन्द्री बुन्ने, चोया काढेर डोको बुन्ने दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको थियो ।

घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री, डोका, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन महोत्सव कोषेढुंगा सावित भएको छ ।
प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफी मेडल प्रदान गरिने छ । शुक्रबार सामूहिक लोक नृत्य र पुरस्कार वितरण कार्यक्रम रहेको सचिव प्रेमराज अधिकारकीले जानकारी दिए ।





