पोखरा/पोखराको अग्रणी शैक्षिक संस्था जनप्रिय बहुमुखी क्याम्पसले ३४औँ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा वक्ताहरूले शिक्षालाई श्रम, सीप र संस्कारसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त सदस्य सचिव प्रा.डा. ज्ञानबहादुर थापाले मुलुकको शैक्षिक जगतमा सामुदायिक क्याम्पसहरूको भूमिका अतुलनीय रहेको बताए । शिक्षालाई व्यवहारिक ज्ञान र उत्पादनसँग जोड्नुपर्ने उनको धारणा थियो ।
सदस्य सचिव थापाले पछिल्लो समय विद्यार्थी विदेशिने क्रम बढेको सन्दर्भमा ‘विदेश पढ्न जाने तर पढेर स्वदेश नै फर्कने’ संस्कार र चिन्तनको विकास गर्नुपर्नेमा जोड दिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले विद्यार्थी भर्नादरमा केही कमी आए पनि क्याम्पसले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगरेको प्रष्ट पारे । उनले सामुदायिक क्याम्पस सञ्चालनमा अनेकौँ चुनौती भए पनि आफ्नै खुट्टामा उभिएर जनप्रियलाई ‘मानित विश्वविद्यालय’ बनाउने सपना पूरा हुने बताए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसले स्वायत्त कार्यक्रमअन्तर्गत नेपालमै पहिलो पटक स्नातकतहमा ‘पर्वतीय पर्यटन व्यवस्थापन’ र ‘एमबीए इन हस्पिटालिटी म्यानेजमेन्ट’ सहित १३ वटा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको बताए । शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।
वार्षिकोत्सवका अवसरमा क्याम्पसको ३३ वर्षे इतिहासमा पहिलोपटक ‘क्याम्पस गीत’ तयार पार्ने चर्चित कवि तथा गीतकार तीर्थ श्रेष्ठ र उक्त गीतमा स्वर तथा सङ्गीत भर्ने गायक कर्णदासलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ट कार्यसम्पादन गर्ने उपप्राध्यापक गोपालप्रसाद बराल र कर्मचारी कल्पना गुरुङलाई नगद, कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरियो । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा स्थापित पुरस्कारबाट कर्मचारी गिता काफ्ले सम्मानित भइन् । क्याम्पसका पूर्वविद्यार्थी एवम् संस्थापक स्ववियु सदस्य अमृत क्षेत्रीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न अक्षयकोषबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरियो । पोखरा उपत्यकास्तरीय अन्तर सामुदायिक क्याम्पस ‘विष्णुप्रसाद बराल स्मृति कप’ छात्र भलिबल प्रतियोगिताका विजयी खेलाडी तथा वार्षिकोत्सव सप्ताहअन्तर्गत सञ्चालित भलिबल, ब्याडमिन्टन, बास्केटबल, हाजिरीजवाफ, वक्तृत्वकला लगायतका प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
बिहीबार नै क्याम्पसको २७ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशन पनि उद्घाटन गरिएको छ । आगामी कार्यकालको नेतृत्वका लागि अध्यक्ष पदमा विष्णुप्रसाद बराल र राजेन्द्र पहारीले उम्मेदवारी दर्ता गराएको क्याम्पस प्रशासनले जनाएको छ ।
पूर्व अध्यक्ष एवम् सल्लाहकार इन्द्रबहादुर कुँबर, कालिका बहुमुखी क्याम्पसका प्रमुख विरञ्जी गौतम, अखिल क्रान्तिकारीका उत्सव भुसाल, नेपाल विद्यार्थी संघका सुजन भट्टराई, अनेरास्ववियुका प्रमोद रिजाल, प्राज्ञिक विद्यार्थी परिषद्का प्रेम थापालगायतका वक्ताले शुभकामना दिँदै जनप्रियको शाखलाई जोगाउन आन्तरिक समस्या समाधान गरी क्याम्पसलाई केन्द्रमा राख्न आग्रह गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख नवीनराज खनालले गरेका थिए ।
प्रातः र दिवा सत्रमा गरी ४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत जनप्रिय क्याम्पसले २०७२ र २०७३ सालमा शिक्षा मन्त्रालयबाट ‘उत्कृष्ट सामुदायिक क्याम्पस’ को राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ । विश्वविद्यालय अनुदान आयोगबाट दुईपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको यस क्याम्पसलाई २०८१ सालमा गण्डकी प्रदेश सरकारलेसमेत ‘प्रदेशकै उत्कृष्ट क्याम्पस’ का रूपमा पुरस्कृत गरेको छ ।





