पोखरा/ बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका सदस्यले नेपाल मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । एसोसियसन र नेपाल मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै एसोसियसनका साधारण सदस्यले सो सुविधा पाउने भएका हुन् ।
एसोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवर तथा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलबीच यसबारे सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालले बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका सदस्यलाई स्वास्थ्य सेवामा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट दिने छ । अब एसोसियसनका सदस्यले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन । छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरू उपभोग गर्न एसोसियसनमा दर्ता भई परिचयपत्र देखाउनुपर्ने छ । अस्पतालमा एसोसियसनका सदस्यले दर्ता शुल्कमा शत प्रतिशत, अस्पतालको सामान्य शैय्या शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेशन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् ।
सदस्यहरूलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन । ‘न्यूरो सर्जरी तथा अति विशिष्ट सेवाबाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छुट हुनेछ । बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवरका अनुसार नियमित जाँचमा रगत, पिसाब, इसिजी, एक्सरे, युरिक एसिड, थाइराइड, युएसजी लगायत अस्पतालले प्रदान गर्ने सेवा छन् । यो सम्झौता २०८४ असार मसान्तसम्म लागू हुनेछ । यस सम्झौतालाई पुन त्यसपछि पनि सम्झौता नवीकरण गरिने अध्यक्ष कुँवरले बताए । नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी निर्देशक ओडुभिलले नेपाल मणिपाल कलेज पोखरालाई स्वास्थ्य लाभको केन्द्र बनाउने दिशामा निरन्तर अगाडि बढेको जानकारी गराए ।
नेपाल मणिपाल अस्पतालका लियाजन अफिसर कृष्णमोहन श्रेष्ठले पोखराकै पुरानो संस्थासँग मणिपालको सहकार्यले पोखरालाई स्वास्थ्यको केन्द्र बनाउन विशेष योगदान दिने आशा व्यक्त गरे ।





