पोखरा / कांग्रेस नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कासहित नेपाली कांग्रेस र एमालेका नेता कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
शनिवार पोखरामा आयोजित रास्वपाको पार्टी सदस्य भेटघाट तथा बृहत पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री खड्का, नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधी मिलन थापा, एमालेका पूर्व गण्डकी प्रदेश कमिटी सदस्य पुष्पराज अधिकारी लगायत नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।
उनीहरुलाई रास्वपा उपसभापति स्वर्णीम वाग्ले, नेताहरु मनिष झा, कविन्द्र बुर्लाकोटी लगायतले पार्टीमा स्वागत गरेका थिए । पूर्वमन्त्री खड्का अखण्ड नेपाल पार्टीमार्फत राजनीतिमा आएका थिए । उक्त पार्टी कांग्रेसमा बिलय गराएपछि खड्कालाई कांग्रेसले समानुपातिक तर्फबाट गण्डकी प्रदेशको सांसद र मन्त्री बनाएको थियो । उनी संघीय सरकारमा महिला तथा बालबालिका मन्त्री र गण्डकीमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका थिए । गण्डकीकै सामाजिक विकासमन्त्री विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोपमा खड्कालाई कांग्रेसले पार्टीबाट निष्काशन गरेको थियो ।
रास्वपा प्रवेश गरेकी मिलन थापा गण्डकी प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट सामाजिक विकास मन्त्री बनेका विन्दुकुमार थापाको भाईबुहारी हुन् । लायन्स क्लबमा सक्रिय थापालाई यसअघि कांग्रेसले पोखरा महानगरको उपमेयरमा सिफारिस गरेको थियो । उनका श्रीमान ध्रुब थापा नाडा अटोमोबाइल्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् ।
जेनजी आन्दोलनका क्रममा थापाको अटो सोरुम प्रदर्शनकारीले जलाइदिएका थिए भने मन्त्री विन्दुकुमार थापाको बगैचा रिसोर्ट र अंशुभरा स्क्वायरमा पनि तोडफोड, लुटपाट र आगजनी गरेका थिए । कार्यक्रममा पोखराकै पूर्व पाइलट मदन केसी पनि रास्वपा प्रवेश गरेका छन् ।





