बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घरायसी दुर्घटनादेखि ठुला विपद् व्यवस्थापन सिकाउँदै

घरायसी दुर्घटनादेखि ठुला विपद् व्यवस्थापन सिकाउँदै

विद्यार्थीहरूलाई ज्ञान सीप सिकाउँदा उनीहरूको माध्यमबाट समुदायका अरू व्यक्तिहरूमा सीप प्रसार गर्नका लागि सहज हुने भएकोले स्थापना दिवसमा विद्यार्थी केन्द्रित कार्यक्रमहरूको आयोजना गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कर्णसिंह धामीले बताए ।


  • संजय रेग्मी
  • पुष २२ २०८२, मंगलबार

पर्वत/सशस्त्र प्रहरी बलको नं. २५ गण हेडक्वार्टर चण्डिका गणका इन्स्पेक्टर रामचन्द्र खड्का आइतबार विद्यार्थीको माझमा थिए । वरिपरि विद्यार्थी अनि बिचमा उभिएर ‘डेमो’ सहित विपद्बाट जोगिने उपायका बारेमा सिकाउँदै थिए । ‘घाँटीमा खाने कुरा अड्कियो भने चिप्लो खाने कुरा खुवाउँदा ठीक हुन्छ भनेर केरादेखि चिप्ले भन्टासम्म खुवाउने अभ्यास अझै पनि छ । त्यो बेलामा त पानी पनि खुवाउनु हुँदैन,’ उनले भने ।

गाउँघरमा गोरुले हानेर घाइते बनाएकादेखि जङ्गली जनावरहरूले आक्रमण गरेका घट्नाहरु पनि धेरै हुने गरेका छन् । गोरुको आक्रमणबाट जोगिन अपनाउनुपर्ने प्राविधिक सीपका बारेमा पनि सशस्त्र प्रहरी निरीक्षक खड्काले विद्यार्थीहरूलाई सिकाए । ‘गोरुलाई सिधा आँखा जुधाएर हेर्दा उसले आफूसँग प्रतिस्पर्धा गरेको बुझ्छ । त्यसैले हामीले ऊसँग हारेको अनुभूति दिलाउन सक्नुपर्छ । भागेर जोगिने अवस्था नभएर बरु लम्पसार परेर भुइँमा घोप्टो पर्नुपर्छ,’उनले विद्यार्थीहरूलाई सुझाए ।

सशस्त्र प्रहरी बलको २५ औँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना भइरहँदा आइतबार कुश्माको नारायण माध्यमिक विद्यालयमा विपद् व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको थियो । विपद् व्यवस्थापनमा लामो अनुभव सँगालेका खड्काले सोही कार्यक्रमको अवसरमा विद्यार्थीहरूलाई जीवनमा आउन सक्ने सामान्य घरायसीदेखि ठुला विपद्जन्य अवस्थामा सुरक्षित रहने उपायका बारेमा सिकाए ।

बाढी, पहिरो, आगलागी, भूकम्प लगायतजस्ता ठुला विपद्का बारेमा मात्रै भन्दा सामान्य र घरायसी तथा व्यक्तिगत विपद्का बारेमा पनि सशस्त्र प्रहरीले विद्यार्थीहरूलाई सिकाएको छ । ठुला घट्नाहरुको व्यवस्थापनका बारेमा मात्रै सिकाउँदा साना तथा व्यक्तिगत समस्याहरूको व्यवस्थापनमा भने अल्झिने गरेको देखिएकाले सामान्य तर उपयोगी प्राविधिक सीपहरू विद्यार्थीलाई सिकाइएको हो ।

उक्त जनचेतनामूलक कार्यक्रममा भान्सा कोठामा एलपीग्यासको प्रयोगका क्रममा हुन सक्ने आगलागीका पूर्व सावधानी तथा आगलागी भएमा त्यसको व्यवस्थापनका बारेमा व्यवहारिक तथा प्राविधिक सीपहरू सिकाइएको छ । यस्तै घाँटीमा अड्किएका बस्तुहरू निकाल्ने तरिका, अचानक बेहोस भएको व्यक्तिको प्राथमिक उपचार सीप, जङ्गली तथा घरेलु जनावरहरूले आक्रमण गर्ने अवस्था र जोगिने उपाय, जनावरको टोकाइबाट स्वास्थ्यमा आउने समस्या र पूर्व सावधानीका बारेमा पनि सशस्त्र प्रहरीले सिकाएको छ ।

विष सेवन गरेका व्यक्तिको प्राथमिक उपचार, पानीमा डुबेका व्यक्तिको प्राथमिक उपचार, जलनको अवस्थामा सुरक्षित प्राथमिक उपचार, करेन्ट लागेका व्यक्तिको ज्यान जोगाउन घटनास्थलमा तत्कालै गर्न सकिने प्राविधिक सीप, सिपिआर (कार्डियोपल्मोनरी रेसिस्टेन्स) दिने तरिका लगायतको विषयमा पनि विद्यार्थीहरूले सैद्धान्तिक र प्रयोगात्मक रूपमा सिक्ने मौका पाएका छन् ।

विद्यार्थीहरूलाई ज्ञान सीप सिकाउँदा उनीहरूको माध्यमबाट समुदायका अरू व्यक्तिहरूमा सीप प्रसार गर्नका लागि सहज हुने भएकोले स्थापना दिवसमा विद्यार्थी केन्द्रित कार्यक्रमहरूको आयोजना गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कर्णसिंह धामीले बताए । विद्यालयमा सिक्ने र सिकाउने वातावरण कुने भएकाले शिक्षक र विद्यार्थीहरूलाई सँगै राखेर सिकाउँदा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->