मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष

डा. रामचन्द्र बास्तोलाका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचार कक्ष (पिआइसीयू) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०८२, बिहिबार

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बुधवारदेखि सुविधासम्पन्न बाल सघन उपचार कक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ ।

प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शैय्याको उपचार कक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा. रामचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचार कक्ष (पिआइसीयू) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो ।

अस्पतालले बाल सघन उपचार कक्ष बारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा उपचार गर्नेगरी बाल सघन उपचार कक्षको सिङ्गो युनिट सञ्चालनमा ल्याएको छ । सो कक्षमा सात शय्या दुई महिनाभन्दा ठूला बच्चाका लागि र एउटा सो भन्दा साना बच्चाका लागि प्रयोगमा ल्याइने छ ।

सिकिस्त अवस्थाका बिरामीलाई सामान्य वार्डमा राखेर उपचार गराउँदा जोखिम बढी हुने र सङ्क्रमण फैलन सक्ने भएकाले पीआइसीयूमा राखेर उपचार गराउनुपर्ने हुन्छ । ‘भेन्टिलेटर, बाइप्यापलगायतका अत्याधुनिक उपकरण, विशेषज्ञ डाक्टरसहितको पिआइसीयू सञ्चालनमा ल्याउने हाम्रो प्रयासले सार्थकता पाएको छ । यसमा डेडिकेटेड जनशक्ति हुन्छ । यसबाट गम्भीर अवस्थाका बच्चाहरूलाई उपचारबाट अन्यत्रफिर्ता पठाउनुपर्ने अवस्था अन्त्य भएको छ’, बास्तोलाले भने ।

यस उपचार कक्षका लागि प्रतिष्ठानले एक जना बालरोग विशेषज्ञसहित ११ जना चिकित्सक, तालिम लिएका १३ जना स्टाफ नर्स र तीनजना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । अस्पतालमा यसअघि रहेको पिआइसीयूमा आवश्यक जनशक्ति र उपकरण थिएनन् । जसका कारणले राम्रोसँग पिआइसीयू सञ्चालनमा आउन सकेको थिएन ।

बालरोग विभाग प्रमुख. डा बास्तोलाले भने, ‘पहिलाको पिआइसीयू नाम मात्रको थियो । यसैका लागि भनेर जनशक्ति थिएन, अन्य विभागबाट बोलाउनुपर्ने थियो । चाहेर पनि बच्चालाई भर्ना गर्न सकिएको थिएन । अहिले बालबालिकाका लागि नै ‘डेडिकेटेड’ उपचार कक्ष सुरु गरिएको हो ।’

जटिल र गम्भीर अवस्थाका बिरामीलाई २४ सैँ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गराइने विशेष कक्ष पीआइसीयू हो । जहाँ चिकित्सक, नर्स, कर्मचारी र बिरामीबाहेक अरुलाई आवतजावत गर्न निषेध गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->