पोखरा/आगामी फागुन २० गतेदेखि गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा २ सदस्यको पद रिक्त हुँदैछ । खुलाबाट नारायणकाजी श्रेष्ठ (तत्कालिन माओवादी) र महिला खुलामा भगवती न्यौपाने (एमाले) को ६ वर्षे कार्यकाल सकिन लागेकाले यी दुवै क्लस्टरका लागि आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुन लागेको छ ।
निर्वाचनका लागि बुधबार राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । यस निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको छ । यीदुई ठूला दलको गठबन्धनको पक्षमा पल्लाभारी भएर गण्डकीका दुवै सिट जित्ने पक्का जस्तै छ ।
गण्डकी प्रदेशमा ५९ प्रदेशसभा सदस्य र ८५ पालिकाबाट एक सय ७० प्रमुख÷उपप्रमुख मतदाता छन् । एक प्रदेशसभा सदस्य रिक्त छ ।
प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ । जसअनुसार गण्डकी प्रदेशमा कुल मतभार ६ हजार ३ सय ५७ छ । निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरप्रमुख र उपप्रमुखहरू तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहन्छन् ।
प्रदेशमा कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार १ हजार ४ सय ३१ हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुखमध्ये कांग्रेसबाट ६६ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार २ सय ५२ पुग्छ । दुवै जोड्दा कांग्रेसको मतभार २ हजार ६ सय ८५ पुग्छ ।
२२ सांसद रहेको एमालेको प्रदेशसभामा १ हजार १ सय ६६ मतभार छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३ सय ३० मतभार हुन्छ । दुवै जोड्दा एमालेको मतभार २ हजार ४ सय ९६ पुग्छ । एमालेबाट निर्वाचित बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपाली निलम्बित भएकाले मतदानमा भाग लिन पाउने छैनन् ।
दुवै दलको मतभार जोड्दा ५ हजार १ सय ८१ पुग्छ । यो दुई तिहाइभन्दा बढी मतभार भएकाले गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित जस्तै हो । यसमा १९ मतभार घट्छ ।
यसैगरी माओवादी केन्द्र र नेकपा (एस) एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरुको मतभार ९ सय ४१ मात्रै हुन्छ । यस्तै राष्ट्रिय जनमोर्चासँग ७६ मतभार छ । स्थानीय तहमा ४ वटा पद जनमोर्चाले जितेको थियो । स्थानीय तहमा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का समानुपातिकतर्फ २ प्रदेश सांसद छन् । यसैले राप्रपाको मतभार एक सय ६ रहेको छ । माओवादी केन्द्रकै चुनाव चिह्नबाट विजयी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा अहिले प्रगतिशी ललोकतान्त्रिक पार्टी (प्रलोपा)मा आवद्ध छन् ।
आगामी फागुनमा बिदा हुने सांसदमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १–१ जना र मनोनित १ जना छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार पद रिक्त हुनुभन्दा ३५ दिनअगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । त्यसकारण २० फागुनमा कार्यकाल सकिने भएपनि निर्वाचन ११ माघमा तोकिएकोहो ।
कुन दलबाट को को बने उम्मेदवार
गठबन्धनबाट जगत र सम्झना
राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले बीचको गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराए । उम्मेदवार दर्ता गराउनेमा कांग्रेसबाट तनहुँका प्रा.डा.जगत तिमिल्सिना र एमालेबाट गोरखाकी सम्झना देवकोटा रहेका छन् ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले सचिव खगराज अधिकारीको नेतृत्वमा उनीहरू मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
तिमिल्सिना कांग्रेस निकटको प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय अध्यक्ष रहेका र पार्टी सभापति शेरबहादुर देउवा निकटका पात्र हुन । देउवाको नजिकको भएकै कारण कांग्रेसको क्षेत्र र प्रदेशबाट सिफारिस गरेको नामलाई लत्याएर केन्द्रीय कार्यसम्पादन समिति बैठकले तिमिल्सिनालाई उम्मेदवार बनाएको हो । यसले पार्टीभित्र चर्को आलोचना भएको छ ।
तनहुँको शुक्लागण्डकी स्थायी घर भएका तिमिल्सिना खुला कोटाबाट उम्मेदवार बनेका हुन् । लामो समयदेखि त्रिभूवनविश्वविद्यालयको शैक्षिकतथा साङ्गठनिक राजनीतिमा सक्रिय रहँदै आएका उनी लोकतन्त्रवादी प्राध्यापकहरूमाझ राम्रो पकड र प्रभाव राख्ने व्यक्तिका रूपमा परिचित छन् ।
देवकोटा भने यसअघिका पटक पटक निर्वाचनमा पराजित नेतृ हुन् । २ वर्ष अघिको निर्वाचनमा पनि उनी राष्ट्रिय सभा सदस्य उम्मेदवार थिइन् । काँग्रेस र माओवादी गठबन्धनका कारण उनी पराजित भइन् । त्यसअघि २०७४ मा गोरखा नगरपालिकाको उपमेयर र २०७९ मा गोरखा नगरपालिकाकै मेयर पदमा उनी पराजित भएकी थिइन् । एमालेको हालै सम्पन्न ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी उनी पराजित भइन् । पटकपटक हार व्यहोरेको व्यक्तिलाई राष्ट्रिय सभामा लैजाने प्रवृत्ति दोहो¥याएको भन्दै एमालेका कतिपय कार्यकर्ताले गुनासो गरेका छन् । देवकोटा एमाले गोरखाको सचिव भएकी थिइन । गोरखा नगरपालिका–३ नारेश्वरकी स्थायी बासिन्दा देवकोटा २०४० सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा होमिदै आएकी छन् ।
नेकपाबाट लामा र घिमिरे
कांग्रेस र एमाले संगको गठबन्धनबाट बाहिरिएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गण्डकीमा राष्ट्रिय सभा निर्वाचनका लागि अन्यतर्फ मनाङका कपिल लामा र महिलातर्फ माओवादी द्वन्द्वका क्रममा एउटा खुट्टा गुमाएकी गोमा घिमिरेलाई उम्मेदवार बनाएको छ । लामा नेकपा केन्द्रीय सदस्य हुन् । लमजुङकी घिमिरेले ०६० को बेनी आक्रमणमा सेनासँगको भिडन्तमा घाइते हुँदा एउटा खट्टा गुमाएकी थिइन् । उनले केही समय पत्रकारिता पनि गरेकी थिइन् ।
राष्ट्रिय जनमोर्चाबाट बराल र बाँस्कोटा
यसैगरी जम्मा ७६ मतभार रहेको राष्ट्रिय जनमोर्चाले गण्डकीमा २ जनाको उम्मेदवारी दर्ता गरेको छ । उम्मेदवारी दर्ता गर्नेमा शंकरप्रसाद बराल र लक्ष्मी बाँस्कोटा रहेका छन् ।
अन्यतर्फ उम्मेदवार दिएका बराल जनमोर्चाका प्रदेश अध्यक्ष हुन् । महिलातर्फकी उम्मेदवार बाँस्कोटा अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष हुन् । अधिवक्ता समेत रहेकी उनी ०७४ मा बागलुङ नगरपालिका वडा नम्बर ३ को अध्यक्ष निर्वाचित भएकी थिइन् । बराल र बाँस्कोटाले पार्टीको मत संरक्षण गर्न उम्मेदवारी दिएको बताए । गण्डकीमा जनमोर्चाको ४ जना मतदाता छन् । बागलुङको जैमिनी नगरपालिका मेयर, बरेङ गाउँपालिका अध्यक्ष तथा बडिगाड र काठेखोला गाउँपालिका उपाध्यक्षमा जनमोर्चाले जितेको थियो ।





