मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

विशेष महाधिवेशन पक्षमा खुल्दै जिल्ला सभापतिहरु

विशेष महाधिवेशन पक्षमा खुल्दै जिल्ला सभापतिहरु


  • ढाेरपाटन संवाददाता
  • पुष २४ २०८२, बिहिबार

पोखरा/ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गरेको विशेष महाधिवेशनको आह्वानलाई विभिन्न जिल्ला समितिहरुले स्वागत गर्दै सहभागिताका लागि अपिल जारी गर्न थालेका छन् ।

कास्की कांग्रेस सभापति किशोरदत्त बराल, ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठ, सिन्धुपाल्चोक सभापति जंगबहादुर लामा, उदयपुर सभापति हिमाल कार्की लगायतले विशेष महाधिवेशन स्वागत गर्दै सहभागिताका लागि विज्ञप्ति नै जारी गरेर अपिल गरेका हुन् । काभ्रे सभापति तीर्थ लामा, धनकुटा सभापति दिनेश राईले पनि विशेष महाधिवेशनका पक्षमा विज्ञप्ति जारी गरेका छन् । कांग्रेसमा ३० भन्दा बढी जिल्ला सभापति विशेष महाधिवेशन पक्षमा रहेको नेताहरूको दावी छ ।

विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांशले विशेष महाधिवेशनको औचित्य नभएको बताइरहेका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए । तर त्यसअनुसार हस्ताक्षर सनाखतलगायत प्रक्रिया अघि बढाइएको थिएन ।

विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरे ३ महिनाभित्र आह्वान गर्नुपर्छ । सभापति र केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन आह्वान नगरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बाध्यकारी भन्दै आह्वान गरेका थिए । कांग्रेस विशेष महाधिवेशनमा पूर्वी नवलपरासीबाट दुई तिहाइ प्रतिनिधि सहभागी हुने भएका छन् । जिल्लाका आठवटै पालिकाका पार्टी सभापतिहरू समेत विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->