पोखरा/नेकपा एमालेले गण्डकी प्रदेशका १० जिल्लामा इन्चार्जहरुको जिम्मेवारी तोकेको छ । एमाले सचिवालय बैठकले पार्टीको सांगठनिक सुदृढीकरण र कार्यविभाजनलाई पूर्णता दिने क्रममा मनाङ बाहेकका जिल्लामा इन्चार्ज तोकेको हो । इन्चार्जमा केही पुराना र केही नयाँ अनुहार रहेका छन् । यसअघि गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी भने पार्टीका सचिव खगराज अधिकारीले पाएका थिए ।
इन्चार्जको जिम्मेवारी पाउने सबैजना केन्द्रीय सदस्यहरु रहेका छन् । इन्चार्जहरुमा कास्कीमा कृष्ण थापा, बागलुङमा मना केसी, तनहुँमा केदार सिग्देल, गोरखामा रामशरण बस्नेत, स्याङ्जामा सीमा क्षेत्री, पर्वतमा पदम गिरी, म्याग्दीमा थममाया थापा, मुस्ताङमा चन्द्रमोहन गौचन, नवलपुरमा तिलक महत र लमजुङमा जमिन्द्रमान घले रहेका छन् । जिल्ला इन्चार्जहरूलाई सम्बन्धित जिल्लाको संगठन विस्तार, कार्यकर्ता परिचालन र पार्टीका नीति तथा कार्यक्रमलाई तल्लो तहसम्म पु¥याउने मुख्य जिम्मेवारी दिइएको छ ।
जिल्ला इन्चार्जहरुले जिल्लाभित्र पार्टीको आन्तरिक एकता कायम गर्ने, नयाँ सदस्य संकलन गर्ने र आगामी निर्वाचनको तयारीका लागि रणनीतिक योजनाहरू बनाउने कार्यमा नेतृत्व गर्नेछन् ।





